एमाले बैठकमै सोधियो : ‘फरार अपराधीको यत्रो आँट ?’

एमाले बैठकमै सोधियो : ‘फरार अपराधीको यत्रो आँट ?’

नेकपा (एमाले)को हिजो सम्पन्न दशौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा सबैभन्दा कडा ढंगले प्रस्तुत भए केन्द्रीय सदस्य पासाङ शेर्पा । उनले ओलीको बचाउ मात्र गरेनन्, ओलीको राजीनामा र पार्टी पुनर्गठनको माग गर्ने नेताहरूमाथि विदेशी खुफिया एजेन्सीको एजेण्ट भएको गम्भीर आरोप समेत लगाए।

उनले भने, ‘ओलीलाई हटाउनुपर्ने भन्ने एजेण्डा विदेशी खुफियाको एजेण्डा हो। त्यो एजेण्डा कार्यान्वयन गर्ने नेपाली हस्तीहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं हुन्। अहिले हाम्रै केही नेताहरूले उनीहरूको एजेण्डा बोकेर हिँड्न थालेका छन्। पार्टीका महत्वपूर्ण पदमा बसेर शत्रुको एजेण्डालाई मलजल गर्ने गतिविधि गरिनु संगठनका लागि गम्भीर अपराध हो। यसको निर्मम समीक्षा हुनुपर्छ।’

शेर्पाले यस्तो आरोप लगाएपछि बैठकमा केहीबेर हलचल मच्चियो। तर ओलीकै पक्षमा बोलिरहेका पोलिटब्यूरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले समेत असन्तुष्टि जनाए ।

त्यही बेला पछाडिबाट केही केन्द्रीय सदस्यहरू आक्रोशित हुँदै बोले, ‘फरार अपराधीको कत्रो आँट हो यो?’ एक केन्द्रीय सदस्यका अनुसार बैठकपछि बाहिर निस्कँदा शेर्पाले विभिन्न नेताबाट झन् कडा आलोचना खेप्नुपर्यो ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले उनलाई सोधे, ‘ए भाइ, यो पार्टी निर्माणको इतिहास थाहा छ? यो पार्टी हामीले बनाएका हौँ। पार्टी निर्माण गरेका नेताहरूलाई विदेशीको एजेण्ट भन्न तिमीलाई कसले अधिकार दियो?’

पाण्डेले त्यसो भनिरहँदा शेर्पाले कुनै प्रतिक्रिया जनाएनन्। उल्टै पाण्डेले थपे, ‘पार्टीमा विचार र बहस सामान्य कुरा हो, तर यस्तो गैरराजनीतिक तर्क गर्नु राम्रो होइन।’

त्यसैबीच अर्का नेताले टाढाबाटै व्यङ्ग्य गर्दै भने, ‘अपराधको भारी बोकेर आएका मानिसका तर्कबारे के कुरा गर्नु र?’

किन भनियो — ‘फरार अपराधी’?

प्रहरी स्रोतका अनुसार शेर्पामाथि चारवटा मुद्दा छन् । बहुविवाह, मानव तस्करी, चेक बाउन्स र ठगी उनीमाथि लागेका मुख्य मुद्दा हुन् । यीमध्ये बहुविवाह मुद्दामा उनी फरार अपराधी हुन्।

जेठी श्रीमती करिश्मा खरेलले शेर्पा र अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । २०७९ चैत २३ गते जिल्ला अदालतले फैसला गर्दै भनेको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी करिश्मा खरेलसँगको दाम्पत्य सम्बन्ध कायम रहँदै पूजा परियारसँग विवाह गरेका छन्। यसरी उनले मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बर बमोजिमको कसुर गरेका छन्। त्यसअनुसार उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय हुन्छ।’

उक्त फैसलाविरुद्ध शेर्पा उच्च अदालत पाटनमा गए, तर २०८१ असोज ६ गते उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरिदियो । अदालतले शेर्पा र पूजा परियारबीचको विवाह मुलुकी अपराध संहिता, २०७४ लागू हुनु अघि भएकाले विवाह बदर नहुने ठहर गरेको हो ।

शेर्पाकी जेठी श्रीमती करिश्माबाट छोरी प्रेरणा र छोरा प्रतीक छन्, भने कान्छी श्रीमती पूजाबाट छोरी पेमा डोमा र छोरा छिरिङ शेर्पा छन्। शेर्पाले करिश्माको सहमतिमा पूजासँग विवाह गरेको दाबी गरे पनि नेपालको कानुनले अघिल्लो श्रीमतीको सहमति लिएर पुनः विवाह गर्न अनुमति दिएको छैन ।

उनले अदालतमा बयानको क्रममा भनेका थिए, ‘जेठी श्रीमती छिरिङ छोप्की शेर्पा बिरामी भएकाले दोस्रो श्रीमती करिश्मा खरेलसँग विवाह गरेको हुँ।’ तर, त्यही दोस्रो श्रीमती करिश्माले नै तेस्रो विवाह गरेको आरोप लगाउँदै मुद्दा हालिन् । 

जिल्ला र उच्च अदालत दुवैले शेर्पालाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरे पनि उनले अझै सजाय भुक्तान गरेका छैनन्।

पुरानो विवाद, नयाँ प्रसङ्ग

तत्कालीन आदिवासी जनजाति महासंघका अध्यक्ष रहँदा पासाङ शेर्पा एमालेबाट संविधानसभा सदस्य बनेका हुन् । त्यतिबेला उनी पहिचान आन्दोलनका अग्रपङ्क्तिमा थिए।

तर, पछि उनले तत्कालीन उपाध्यक्ष अशोक राईलाई एमालेविरुद्ध विद्रोह गराउन सक्रिय भूमिका खेले र उनलाई नै ‘धोका’ दिँदै हतार–हतार सामाजिक लोकतान्त्रिक पार्टी स्थापना गरे। उक्त दल हुँदै उनी डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीमा पुगे। त्यही बेला उनीमाथि मानव तस्करीको आरोप लागेको थियो ।

तीन करोड ९० लाख रुपैयाँ लिएर १३ जनालाई मेक्सिको पुर्याएको आरोप सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको थियो। मेक्सिकोमा ‘हिमाली आदिवासी जनजातिको सांस्कृतिक आदानप्रदान कार्यक्रम’ भन्दै पासाङ शेर्पा र डन्डुले १३ जनालाई लगेका थिए। तर फर्कँदा उनीहरू दुईजना मात्रै नेपाल आए ।

पासाङले कलाकारका रूपमा लगेकामध्ये ताप्लेजुङकी पासाङ छोपेन, सोनाम डोमा, दावा फुटिक, कार्मा बाग्या, पासाङ शेर्पा, कासाङ शेर्पा, पेम्बा नुपु शेर्पा, लोप्साङ लामा, दावा छिरिङ शेर्पा, कान्छा शेर्पा, ग्याल्जेन शेर्पा (उनकै भाइ), गोरखाका तेन्जिङ शेर्पा र इलामकी आरती राई अहिले अमेरिकामा छन्।

त्यो समयका तत्कालीन सीआईबी प्रमुख नवराज सिलवालले शेर्पाको फाइलमा अनुसन्धान गरेका थिए। राजनीतिक दबाबका कारण अनुसन्धान बीचमै रोकिएको बताइन्छ । सो फाइल अहिले पनि सीआईबीमा छ ।

त्यसैगरी अमेरिका पठाइदिने भन्दै ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक वर्षअघि काठमाडौं प्रहरी परिसरमा पनि शेर्पाविरुद्ध उजुरी परेको थियो। तर, त्यसमाथि हालसम्म अनुसन्धान अघि बढाइएको छैन ।

टिप्पणीहरू