सात सवारी साधन लहरै ठोक्किँदा २१ घाइते

सात सवारी साधन लहरै ठोक्किँदा २१ घाइते

नारायणगढ–मुग्लिन सडकखण्डको गाइघाट नजिक सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना आज बिहान करिब साढे ७ बजे भएको हो।

दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किँदा श्रृंखलाबद्ध रूपमा अन्य पाँच सवारी साधनहरू पनि दुर्घटनामा परेका हुन्। ठोक्किएका अन्य सवारीहरूमा ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको इभी माईक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बाअब ८४७० नम्बरको कार रहेका छन्।

दुर्घटनामा केही बालबालिकासहित २१ जना घाइते भएको प्रहरी प्रवक्ताले जानकारी दिए। घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पताल भरतपुर, चार जना नयाँ मेडिकल कलेज भरतपुर र चार जना जनता केयर अस्पताल मुग्लिनमा उपचाररत छन्।

चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा तनहुँ देवघाट–५ का ५२ वर्षीय युबराज साखी, सोही ठेगानाकी ४६ वर्षीया सर्मिला साखी, २१ वर्षीया अर्चना साखी र ट्रक चालक मकवानपुर हेटौंडा–७ का २३ वर्षीय अजय स्याङ्तान रहेका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

नेशनल सिटी अस्पतालमा नवलपरासी बर्दघाटका ३२ वर्षीय प्रकाश पाण्डे, ३३ वर्षीया पवित्रा पाण्डे, ८ वर्षीय आसुतोष पाण्डे, ३ वर्षीया प्रज्ञा पाण्डे र ४ वर्षीय कलश पाण्डे उपचाररत छन्। तिनमध्ये अधिकांशको अवस्था मध्यम रहेको बताइएको छ।

त्यसैगरी, खैरहनी–२ की १३ वर्षीया कृपा नेपाल, ३३ वर्षीय केदार नेपाल र ५ वर्षीया काव्या नेपाल पनि घाइते भएकामा केदार र कृपाको अवस्था मध्यम छ। काठमाडौकी १८ वर्षीया कला दुर्लाकोटीको अवस्था पनि मध्यम रहेको छ।

खैरहनी–८ की ४८ वर्षीया जुना तामाङ र रत्ननगर–९ की २८ वर्षीया सरु चेपाङ गम्भीर घाइते भएकी छन्। रत्ननगर–९ की ५ वर्षीया इस्मिरिका राना मगर सामान्य घाइते भएकी छन्। बर्दघाटकी २९ वर्षीया पुष्पा भण्डारीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जनता केयर अस्पताल मुग्लिनमा उपचाररत घाइतेहरूमा नवलपरासी कावासोती–८ का ४० वर्षीय श्रीराम रानाभाट, ३५ वर्षीया पार्वती रानाभाट, ९ वर्षीय निशान रानाभाट र ६ वर्षीया विपिन्सा रानाभाट रहेका छन्। विपिन्साको अवस्था मध्यम र अन्यको सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सवारी साधनहरू सडकबाट हटाइएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सुचारु भएको छ।

– अजय गोर्खाली

टिप्पणीहरू