प्रदर्शनकारीले पनि गोली चलाएको भिडियो सार्वजनिक

प्रदर्शनकारीले पनि गोली चलाएको भिडियो सार्वजनिक

भ्रष्टाचार अन्त्य र सुशासन कायमका नाममा गत भदौ २३ गते जेनजी प्रदर्शन भयो । शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसात्मक बन्यो । प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलायो । 

सो दिन १९ जनाको ज्यान गएपछि भोलिपल्ट मुलुक अशान्त बन्यो । देशभर नै दनदनी आगो बालियो भने सुरक्षाकर्मीको हतियार लुटियो । ती हतियारको दुरुपयोग गरिएको तथ्य बल्ल बाहिर आएको छ । अशान्त माहौलको मौका छोपेर प्रदर्शनकारीले पनि गोली हानेको फेला परेको छ । 

हालै सार्वजनिक एक भिडियोमा प्रदर्शनकारीले गोली हानेको देखिन्छ । प्रहरी वृत्त,महाराजगञ्जमा आगजनीपछि लुटिएको हतियारले गोली हानिएको छ । टाउकोमा हेल्मेट र मुखमा मास्क लगाएका एक प्रदर्शनकारीले लगातार गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

भिडियोपछि ती प्रदर्शनकारीलाई कारबाही गर्नुपर्ने चर्को माग उठिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता खिमेन्द्र भाविरामले जेनजी आन्दोलनलाई आतंककारीको विद्रोह भनेका छन् । लेखेका छन्,‘आतंककारी घटना रहेछ । र यसलाई जेनजी आन्दोलन नभनी आतंककारी विद्रोह भन्नुपर्छ ।’ 

अमृत ओली (धनुष) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको जोडबलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले ती सुटरलाई कारबाही गर्लान कि नगर्लान् ? भनी चासो व्यक्त गरेका छन् । ‘बालेनको गृहमन्त्रीले के गर्छन् अब ?’,उनको प्रश्न छ । 

रविन्स् चाम्सले ‘आतंककारी’ लाई कारबाहीको माग गरेका छन् । भनेका छन्,‘यो आतंककारीको पहिचान गरी कारबाही गरियोस् ।’

टिप्पणीहरू