एनसेलको जिम्मा माइकल फोलेलाई
दूरसञ्चार सेवा प्रदायक एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माइकल फोले नियुक्त भएका छन् । दूरसञ्चार क्षेत्रमा दुई दशक बढी अनुभव बटुलेका उनले अब एनसेल सम्हाल्ने भएका हुन् ।
फोलेले आगामी कात्तिक १५ गते प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्ने एनसेलले जनाएको छ । यसअघि उनले दूरसञ्चार क्षेत्रका प्रमुख कम्पनीहरुमा कुशल नेतृत्व गर्दै उल्लेखनीय रेकर्ड बनाइसकेका छन् ।
एनसेलमा आबद्ध हुनअघि एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रुपमा कार्यरत रहँदै फोलेले सात वटा फ्राङ्कोफोन अफ्रिकी बजारहरुको सञ्चालन जिम्मेवारी वहन गरेका थिए ।
त्यसअघि टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रुपमा कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउन सफल भए ।
फोलेका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया) मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यावसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या सात करोडमाथि पुर्याए भने ईबिट्डामा ६० प्रतिशत बढी वृद्धि हासिल गराएका थिए ।
एनसेलमा सीईओका रुपमा आफ्नो नियुक्तिबारे फोले भन्छन्, ‘यो जिम्मेवारी पाउँदा म निकै खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेलसँग जोडिएर राष्ट्रको सेवा गर्न, हाम्रा सेवा सुदृढ बनाउन र आउँदो पुस्तालाई सशक्त बनाउन तत्पर छु ।’
त्यस्तै, एनसेल सञ्चालक समितिले फोलेको नेतृत्वमा अब एनसेलले रुपान्तरणको मार्गदर्शन गर्ने र आफ्ना सेवालाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । म्याकगिल विश्वविद्यालयबाट स्नातक र इनसीडबाट ग्लोबल म्यानेजमेन्ट एण्ड गभर्नेन्स एक्सिक्युटिभ सर्टिफिकेट्स प्राप्त फोले क्यानडा–केन्या दुवैको नागरिक हुन् ।
टिप्पणीहरू