सुन पसलमा पौने टन चाँदी, आक्रमणमा घाइते सबै प्रहरी
जनकपुरधाममा सुनचाँदी व्यवसायी र प्रहरीबीच भएको झडपमा १० जना प्रहरी घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित संजय ठाकुरले सञ्चालन गरेको सुन पसलमा अस्ति भएको झडपमा घाइते प्रहरीको उपचार जारी छ ।
इन्सपेक्टर संजीवकुमार यादवसहित हवल्दारहरु संतोषकुमार राउत, उमेश पासवान, अशोककुमार चौधरी घाइते छन् । त्यस्तै जवान दिलिप सहनी, अमरजित कापर, दिपेन्द्रप्रसाद यादव, लालेन्द्रकुमार साह र नितेश पटेल र प्रहरी चौकी हनुमाननगरका सहायक निरीक्षक मनोजराज भट्ट पनि घाइते भएका हुन् ।
सुन पसलमा अवैध रूपमा राखिएको ७४३ किलोग्राम चाँदी बरामद गर्न खोज्दा झडप भएको थियो। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरको नेतृत्वमा एक सयभन्दा बढीको भीडले प्रहरीलाई घेरा हालेर ढुंगामुढा र हातपात गरेको थियो।
झडप नियन्त्रणका लागि प्रहरीले दुई सेल टियर ग्यास र सात राउन्ड हवाई फायर गरेको थियो। सो क्रममा प्रहरीको गाडीमा तोडफोड भएको र मोटोरोला वाकिटकीको ब्याट्री चोरी भएको छ।
घाइते प्रहरीको अवस्था सामान्य रहेको बताइन्छ ।
टिप्पणीहरू