डाक्टरहरुको जाँचमा सुरक्षा निकाय सबै
चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमईसीईई–बीएल २०२६) मा चार वटै सुरक्षा निकाय परिचालन गरिने भएको छ । चिकित्सा शिक्षा आयोगले सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालनका निम्ति गृह मन्त्रालय र नेपाली सेनाका निम्ति रक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रश्नपत्र छपाईको क्रममा कात्तिक १० गतेदेखि भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको भित्री सुरक्षा सेना, बाहिरी सुरक्षा सशस्त्र र प्रहरीलाई दिने तथा आवश्यक परेको खण्डमा राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्ने निर्णय भएको छ । बाहिरी सुरक्षाको व्यवस्थापन मिलाउने जिम्मा जिल्ला प्रशासन कार्यालय, भक्तपुरलाई दिइएको छ ।
कात्तिक १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि उपत्यकाभित्र रहेका प्रत्येक परीक्षा केन्द्रहरुमा बिहान ७ बजे केन्द्रको सुरक्षण मुद्रयालयबाट प्रश्नपत्र तथा उत्तरपुस्तिका लैजाने र ती सामग्रीहरु फर्काउने सवारी साधनको सुरक्षा गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी परिचालन गरिने भनिएको छ ।
परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सम्पन्न नभएसम्म सुरक्षा व्यवस्थापन मिलाउन प्रहरी र सशस्त्र प्रहरी खटिने, आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ । आयोगबाट प्रदान गरिएको परिचयपत्र बाहकबाहेक अरुलाई परीक्षा केन्द्रमा छिर्न र परीक्षा नसकिएसम्म कर्मचारीलाई निस्किन नदिने निर्णय कार्यान्वयनका लागि सुरक्षाकर्मी र कर्मचारीलाई जानकारी गराउने भनिएको छ ।
जिल्लास्तरमा परीक्षाको सुरक्षा प्रबन्धका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको बैठक बसेर आवश्यक कदम चाल्नेलगायत निर्णय भएको छ ।
टिप्पणीहरू