हिमालको काखमा आत्माको यात्रा
शिवजी तिवारी
प्राकृतिक विविधताको उत्कृष्ट नमूना हाम्रो देश नेपाल विश्वका केही मुलुकहरूमध्ये एक हो। अनुपम सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यो देवभूमिमा मेरो मन सधैंँ विचरण गरिरहन्छ। घुमन्ते मन कहिल्यै एक ठाउँमा अडेर बस्न सक्दैन—आशाका झिल्काहरू पछ्याउँदै अनन्त सुखको खोजीमा हिँड्ने एक यात्रु हुँ म।
महेन्द्र राजमार्ग र पुष्पलाल लोकमार्गहरू पछ्याउँदै सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रा गरिसकेको मेरा लागि नयाँ ठाउँमा घुम्ने योजना तारान्तार आइरहेका हुन्छन्। नेपाल, जन्मभूमिभन्दा पृथक रहेर पनि, यसको प्रकृति, सुन्दरता र ऐतिहासिकताले जो–कोहीलाई मन्त्रमुग्ध पार्छ। उत्तरतर्फ चाँदीजस्तै टल्किएका हिमालका चुचुराहरू, तिनको काखमा छचल्किएका तालतलैयाहरू—यी सबैले मन छोइहाल्छन्। प्रकृतिको यो अनुपम उपहारसँग जोडिएको इतिहास र त्यससँग सम्बन्धित संस्कृतिले सधैंँ लोभ्याउँछ।
हरेक ठाउँका आफ्नै विशेषता, ऐतिहासिकता र प्रेरणाका स्रोत हुन्छन्। नयाँ ठाउँको यात्राले पुराना सीमाना तोड्दै नयाँ सम्भावनाका ढोका खोल्ने अवसर दिन्छ। दशैंँ–तिहारको बिदालाई अर्थपूर्ण बनाउन र शैक्षिक गतिविधिमा नयाँपन विकास गर्न पोखरा महानगरपालिका–१०, रामबजारस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू हरेक वर्ष अवलोकन भ्रमण आयोजना गर्दै आएका छौं। यही उत्साहलाई निरन्तरता दिँदै, यस वर्ष रहस्य र साहसिक कथाले भरिपूर्ण मुस्ताङ जिल्लाको भ्रमण गर्यौं।
पहिलो दिन — स्याङ्बोचेमा बास
भाद्र महिनाको जेन्जी आन्दोलनका कारण देश अस्तव्यस्त थियो। असोजको सुरुवातसँगै बाढी, पहिरो र सडक दुर्घटनाले सयौंको ज्यान लिँदै हजारौं मानिसलाई प्रभावित बनाइसकेको थियो। यस्तो जोखिमपूर्ण अवस्थामासमेत हामीले यात्रा सुरु ग¥यौं—किनभने हाम्रो विश्वास थियो, यात्रा भनेकै साहसी र आँटिला मानिसहरूको परीक्षा हो।
२९ असोजको बिहान विद्यालयका ३३ जना शिक्षक र कर्मचारीले यात्रा सुरु गर्दा चिसो हावा बगिरहेको थियो। आकाश नीलो र सुनौलो रङले रङ्गिएको थियो। यो नयाँ अनुभव र सम्झनाको अध्याय लेख्ने शुभसंकेतजस्तै लाग्थ्यो।
हिमाली यात्रा भएकाले साथीहरूबीच लेक लाग्ने डर र आफ्ना अनुभव साट्ने क्रम चलिरहेको थियो। कसैले हास्यरसका कुरा गर्थे, कसैले रमाइला घटना सुनाउँथे। “मुटु छुने लुम्लेको हावाले...” गीतमा सबैले स्वर मिलाउँदै लुम्ले पुग्यौं र त्यहाँको तातो चियाले बिहानको चिसो भगायौं।
लुम्लेपछि हाम्रो यात्रा पर्वतको कुश्मा हुँदै म्याग्दीको बेनी बजार पार गरेर गलेश्वर धामतर्फ अघि बढ्यो। गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा चिनिन्छ। धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यो स्थल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ।
केही समय पूजा–आजा र तस्बिर खिचेपछि यात्रा दानातर्फ बढ्यौं। त्यहाँ बिहानको खाना खाएर रूप्से झरनातर्फ प्रस्थान ग¥यौं। समुद्र सतहदेखि १८०० मिटर उचाइमा रहेको रूप्से झरनाको गर्जनले यात्राको थकान पलभरमै हरायो। सेतो पानीको फुहार, हरियाली र चिसो हावाले स्वागत गरेजस्तो लाग्यो।
रूप्से झरनाको सौन्दर्य शब्दमा बयान गर्न कठिन छ—त्यो महसुस गर्नुपर्ने स्थल हो। त्यही सुन्दरता मन र क्यामेरामा कैद गर्दै हामी मुस्ताङतर्फ अघि बढ्यौं। लेते, मार्फा, जोमसोम, कागबेनी हुँदै २१३ किलोमिटरको यात्रापछि स्याङ्बोचे पुग्यौं।
९०० मिटरबाट सुरु भएको हाम्रो यात्रा ३८०० मिटरमा पुगेर थामियो। उचाइका कारण केही साथीहरूमा रिंगटा, टाउको दुख्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखिए। औषधि र सहयोगले सबै सहज भए।
सायङ्गबोचेमा हाम्रो यात्राको अर्को रमाइलो पाटो पनि जोडियो—सहायक प्रधानाध्यापक वासुदेव अधिकारी सरको जन्मोत्सव। स्थानीय स्याउ र तिब्बती परिकारसँग जन्मोत्सवको उल्लास झन् बढ्यो। गीत–संगीत, हाँसो–ठट्टा र आत्मीयताले त्यो रात अविस्मरणीय बनायो।
दोस्रो दिन — लोमान्थाङको बास
स्थानीय चाउमिनबाट बनेको स्वादिष्ट थुक्पा खाएर हामी नेपाल–चीन नाका कोरोलातर्फ अघि बढ्यौं। समुद्र सतहदेखि ४६५० मिटरमा रहेको कोरोला नाका नेपाल–चीन सीमाको २४ नम्बर सीमास्तम्भमा अवस्थित फराकिलो पठार हो।
चीनतर्फ पक्की संरचना बनेका भए पनि नेपालतर्फ अस्थायी बास मात्र रहेछ। स्थानीयहरूले व्यापारका लागि पाल टाँगेर पसल चलाइरहेका थिए। तिब्बततर्फ ३० किलोमिटरसम्म जान पाउने अनुमति रहेछ।
कोरोलाबाट फर्किंदा छोसेर गाउँस्थित जोङ गुफा अवलोकन गर्यौं। ३७८५ मिटर उचाइमा रहेको यो नेपालको सबैभन्दा पुरानो मानवनिर्मित गुफामध्ये एक रहेछ—१५५ फिट अग्लो चट्टानमा खोपिएको, ५० कोठा भएको बहुतला गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्थ्यो।
लोमान्थाङ पुगेर साँग्रीला गेस्टहाउसमा बास बस्यौं। त्यहाँको तातो चियाले जाडो भगायो। होटल सञ्चालकको रमाइलो प्रस्तावले माहोल झन् हँस्योलो भयो।
त्यसपछि लोमान्थाङ दरबार क्षेत्रको भ्रमणका लागि निस्कियौं। ढुङ्गा र माटोका पर्खालले घेरिएको बस्ती, बीचमा दरबार—६ सय वर्ष पुरानो इतिहास बोल्ने सम्पदा। तत्कालीन राजा आमेपालले नौ मिटर अग्लो पर्खाल बनाएका थिए भन्ने कुरा स्थानीयले सुनाए। अहिले पनि २१ परिवार त्यहाँ बसोबास गरिरहेका छन्।
गणतन्त्रपछि पर्खालबाहिर बस्ती विस्तार भए पनि दरबारको रौनक घटेको महसुस भयो। स्थानीयहरू अझै अन्तिम राजा जिग्मी पलवर बिष्टको श्रद्धापूर्वक नाम लिन्छन्।
राति सबैले नाचगान गर्दै रमाइलो समय बितायौं। कसैले स्थानीय च्याङ्राको मासु खाए, कसैले आलु तरकारी र दालभात। थकानमाथि सन्तोषको निद्रा लाग्यो।
तेस्रो दिन — मुक्तिनाथ र रानिपौवामा बास
लोमान्थाङबाट छुसाङ हुँदै ढुम्बा तालसम्म पुग्यौं। आफ्नै हातले स्याउ टिपेर खाने अनुभव अद्वितीय थियो। ढुम्बा तालको निलो रङ र मुटु आकारले मन लोभ्यायो। फोटो, भिडियो र रमाइलो क्षणहरू सँगाल्दै रानिपौवा पुगेर आराम गर्यौं।
चौथो दिन — मुक्तिनाथ दर्शन र फर्कने यात्रा
समुद्र सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको साझा तीर्थस्थल हो। १०८ धारामा स्नान र पूजा गरेपछि मुक्ति प्राप्त हुने विश्वास छ।
भजन–कीर्तन गर्दै हामी पोखरा फर्कियौं। यो यात्रा केवल भौगोलिक गन्तव्य होइन—आत्मिक शान्ति र अनुभव संकलनको पनि यात्रा थियो। प्रकृतिको साक्षात्कार, धार्मिक आस्था र साथीसँगको आत्मीय सम्बन्धले यो मुस्ताङ भ्रमण हाम्रो जीवनकै अविस्मरणीय अध्याय बन्यो।














टिप्पणीहरू