स्वर्गीय विपिनको अन्त्येष्टिअघि शवयात्राको तयारी

स्वर्गीय विपिनको अन्त्येष्टिअघि शवयात्राको तयारी

प्यालेष्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको आज गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गर्न लागिएको छ । बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा गरेर महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदै छ ।

दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास पनि सहभागी हुँदै छन् । हिजो इजरायलबाट काठमाडौं हुँदै विपिनको पार्थिव शरीर राति ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। राजदूत र दूतावासका कर्मचारीहरु पनि शवसँगै हिजो विपिनको घरमा पुगेर उनका मातापिता र बहिनीलाई सान्त्वना दिएका हुन् ।

काठमाडौं विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूले स्वर्गीय विपिनप्रति राजकीय श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाली सेनाको विमानमा राखेर धनगढी पुर्याएपछि पार्थीव शरीरलाई धनगढीबाट स्थलमार्ग हुँदै घर पुर्याइएको हो ।

२०२३ अक्टोबर ७ मा इजरायलमा भएको हमास आक्रमणमा विपिनलाई बन्धक बनाइएको थियो। दुई वर्षसम्म अज्ञात रहेको उनको अवस्था असोज २७ गते मृत्युको पुष्टि भएको हो । 

अघिल्लो सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेपछि उतै पोष्टमार्टम गरेर हिजो ल्याइएको हो । नेपाली सेनाले विपिनको शव हिजो साँझ परिवारलाई धनगढी विमानस्थलमा औपचारिक रुपमा बुझाएको थियो।

टिप्पणीहरू