परियोजना नसकिँदै राजधानीमा बिजोग

परियोजना नसकिँदै राजधानीमा बिजोग

नेपाल विद्युत प्राधिकरणले भूमिगत गर्न खोजेको बिजुलीका तार बाहिरै जल्न थालेका छन्। गुजुल्टिएका, लत्रिएका र अव्यवस्थित तारहरूले शहरको सुन्दरता मात्र बिगारेको छैन, जोखिम पनि बढाइरहेको छ । तार भूमिगत कार्यमा ढिलाइ हुँदा त्यस्ता तार जलेर, माटोमा धसिएर ध्वस्त भएको देखिन्छ ।

काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने काम सुरु भएको वर्षौ बितिसकेको छ। उपत्यकालाई तारमुक्त बनाउने उद्देश्यका साथ प्राधिकरणले सन् २०२० मा कार्य सुरु गरेको थियो। पहिलो चरणमा उपत्यकाका विभिन्न चार क्षेत्रलाई छुट्याएर भूमिगत कार्य गरिएको बताइन्छ ।

प्राधिकरणले टेन्डरमार्फत तीन वटा कम्पनीलाई ठेक्का दिएको छ। लाजिम्पाटदेखि महाराजगञ्ज हुँदै बूढानीलकण्ठ क्षेत्र र रत्नपार्क, पुतलीसडक हुँदै एयरपोर्ट क्षेत्रमा भारतको केआई कन्स्ट्रक्सनले काम गरिरहेको छ। कुलेश्वर, बल्खु हुँदै कीर्तिपुर र स्वयम्भू क्षेत्रमा एलएण्डटी कन्स्ट्रक्सनले कार्य गरिरहेको छ भने ललितपुर र भक्तपुर क्षेत्रमा टाटा कम्पनीले जिम्मा पाएको छ ।

शुरुमा चार वटै आयोजनाको कार्य सम्पन्न म्याद गत डिसेम्बरसम्म निर्धारण गरिएको थियो । तर काम नसकिएकाले म्याद थपेर काम भइरहेको छ । एसियाली विकास बैंकको एक सय मिलियन डलर सहुलियत ऋणमा यो परियोजना अघि बढाइँदैछ।

तर, भूमिगत गर्न खोजिएका तार बाहिरै जलेर ध्वस्त हुन थालेपछि प्राधिकरणले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । पछिल्लो घटना अनुसार काठमाडौंको लाजिम्पाटस्थित प्राधिकरणले भूमिगत गरेका तार पनि जलेको छ।

प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकको तारमा विद्युत सर्ट हुँदा सँगै रहेको प्राधिकरणको तार पनि जलेको हो। तार भूमिगत गर्ने आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख तारा प्रधानले इन्टरनेट र टेलिकम कम्पनीहरूको अव्यवस्थित तार व्यवस्थापनका कारण प्राधिकरणले क्षति व्यहोर्नुपरेको बताए।

प्रधानले भने, ‘इन्टरनेट र टेलिकमका तारहरू अव्यवस्थित छन्। हामी ती कम्पनीसँग समन्वय गर्दै तार व्यवस्थित गर्न खोजिरहेका छौं। तर कतिपयले अटेर गर्छन्। त्यस्ता अव्यवस्थित तारमा विद्युत सर्ट हुँदा हाम्रोमा पनि क्षति पुग्छ।’

उनका अनुसार, यसरी भएको क्षति सम्बन्धित कम्पनीसँगै दाबी गरिनेछ । प्राधिकरणका अनुसार उपत्यकामा तार भूमिगतको काम करिब ८० प्रतिशत सम्पन्न भएको छ। काठमाडौंका दुई क्षेत्रमा ७०–९० प्रतिशत, ललितपुरमा ८० प्रतिशत र भक्तपुरमा ५० प्रतिशत कार्य प्रगति भएको छ।

बर्खामा सडक खन्न नपाइने र अन्तरनिकाय समन्वय समस्याका कारण उक्त कार्यमा ढिलाइ भएको प्रधानले बताए। उनले भने, ‘असारदेखि भदौसम्म सडक खन्न नपाइने नियम छ। सडक खन्न नपाएपछि काम रोकिन्छ। विभिन्न निकायसँग समन्वय गर्नुपर्ने हुँदा पनि ढिलाइ भएको हो। तर यो वर्षभित्र काम सक्ने लक्ष्य छ।’

प्राधिकरणका प्रवक्ता राजन ढकालले पनि बर्खायाममा काम नहुने र अन्तरनिकाय समन्वय समस्याका कारण ढिलाइ भएको भए पनि यो वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

टिप्पणीहरू