सार्वजनिक सम्पत्ति खरानी बनाउन देशकै गहनाहरु संलग्न
नयाँ नेपाल बनाउने नाममा गत भदौ २४ गते मुलुकका सार्वजनिक सम्पत्ति खरानी बनाउनेमा देशका गहना मानिएकाहरुको एकपछि अर्को संलग्नता भेटिन थालेको छ ।
विध्वंशमा निर्देशक,कवि,कमेन्टेटर, पूर्व फुटबल खेलाडी अमनप्रताप अधिकारी, कलाकार निश्चल बस्नेत र दिपकराज गिरी संलग्न रहेको भन्दै सार्वजनिक भएका फोटो,भिडिओको चर्चा सेलाउन नपाउँदै अन्य कलाकार पनि संलग्न रहेको प्रमाण फेला पर्न थालेको छ ।
लोकदोहोरी गायक तथा इन्द्रेणीका सेलिब्रेटी छत्र शाही र मोडेल तथा कलाकार सुरुची बुढाथोकी जेनजी विध्वंशका क्रममा भएको आगजनी र अराजकतामा संलग्न भएको फोटो र भिडिओ सार्वजनिक भएको छ ।
भदौ २४ गते राष्ट्रिय झण्डा भिरेर सिंहदरबारसहितका सरकारी सम्पत्तिमा आगजनी र प्रहरीका हातहतियार लुटपाट गर्ने भीडमा गायक शाही पनि देखिएका छन् भने नेताहरुलाई भाग्न दिनुहुन्न भन्दै एयरपोर्ट घेराउ गर्न सुरुचीले उकासेको भिडिओ फेला परेको छ ।
उनले भनेकी छन्, ‘गाईजहरु सबै एयरपोर्टतिर जानुपर्यो है,हामी पनि अब एयरपोर्टतिर जान लागिरहेका छौं सबै जना । अब एयरपोर्टमा जानुपर्यो । चोरहरुलाई भाग्न दिनुभएन ।’
मुलुकमा परिवर्तन ल्याउने भन्दै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड,आगजनी र लुटपाट मच्चाउनेमा कलाकार, खेलाडी, निर्देशक,गायकहरु संलग्न रहेका फोटो, भिडिओहरु एकपछि अर्को बाहिरिन थालेका छन् ।
यसअघि भदौ २४ गते संसद् भवनमा आगजनी गर्ने भीडमा अमन अधिकारी र निश्चल बस्नेत पनि सहभागी भएको फोटो,भिडिओ बाहिरिएका थिए भने काँग्रेस नेता विमलेन्द्र निधिको खरानी भइसकेको घर नजिक दिपकराज गिरीको फोटो सार्वजनिक भएको थियो ।
टिप्पणीहरू