कुलमानको निर्देशन,कान्छाराम ‘जिल्लाराम’

कुलमानको निर्देशन,कान्छाराम ‘जिल्लाराम’

शहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण परियोजनाका ठेकेदारहरुमाथि कडाइ गर्न निर्देशन दिएपछि पूर्व उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनी पनि समस्यामा परेको छ । 

शहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले छ वटा ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । विभागको सस्पेन्सन बृज डिभिजनले ‘ठेक्का किन नतोड्ने सम्बन्धी अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्दै कान्छाराम कन्स्ट्रक्सनसहितका ठेकेदारलाई १५ दिने स्पष्टीकरणको समय दिएको छ ।

ठेक्का तोड्ने सूचीमा परेका ठेकेदारमध्ये कान्छाराम कन्स्ट्रक्सनका प्रमुख पूर्णबहादुर तामाङ घिसिङको निर्णयबाट असन्तुष्ट बनेको बताइन्छ । कान्छारामको युनिकर्न जेभीले २०७८ असार १० गते सम्झौता गरेको झापास्थित कमल खोला दोभान पुलको ठेक्का तोड्ने तयारी छ। सो ठेक्का गत माघ २६ मै सम्पन्न गर्नुपर्ने थियो ।

घिसिंगलाई गत चैतमा ओली सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउँदा राज्यमन्त्री रहेका कान्छाराम सरकारको उक्त निर्णयको विरोधपछि पदबाट हटाइएका थिए । कुलमानको पक्ष लिँदा हटाइएका उनी अहिले कुलमानकै निर्णयका कारण मारमा परेका हुन् ।

टिप्पणीहरू