हिमपात नरोकिएपछि वडाध्यक्षको आग्रह
मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा वर्षा र हिमपात नरोकिएपछि स्थानीय जनप्रतिनिधिले त्यहाँ पुगेका तीर्थालु र स्थानीयलाई सुरक्षित रहन अपिल गरेका छन् । बाक्लो हिमपात भइरहेको जनाउँदै वारागुङ मुक्तिनाथ गाउँपालिका–१, का वडाध्यक्ष प्रमेश गुरुङले सावधानी अपनाउन र कुनै समस्या परेमा खबर गर्न आग्रह गरेका हुन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘मुक्तिनाथ दर्शन गर्न वा अप्पर मुस्ताङ यात्रा गर्दै गर्नुभएका सम्पूर्ण यात्रु महानुभावलाई जानकारी गराइन्छ कि हाल मुक्तिनाथ क्षेत्र तथा अप्पर मुस्ताङतिर निरन्तर भारी हिमपात भइरहेको छ । त्यसकारण यात्राका क्रममा कुनै पनि समस्या वा असुविधा उत्पन्न भएमा तुरुन्त सम्पर्क गर्नुहोस् ।’
गुरुङले आफ्नो मोबाइल नम्बर ९८५८६७८१५१ सहित वडा नम्बर ३ का वडाध्यक्ष विनोद गुरुङलाई ९८५७६५०७९० नम्बरमा, वडा नम्बर ४ का अध्यक्ष कर्मघ्यचो गुरुङलाई ९८४२८४९९९९ नम्बरमा र इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई ९८४९११३८८४ मा सम्पर्क गरी समस्या टिपाउन आग्रह गरेका छन् ।
टिप्पणीहरू