चीनमा नयाँ ‘इमिग्रेसन सिस्टम’

चीनमा नयाँ ‘इमिग्रेसन सिस्टम’

चीनले आफ्नो प्राविधिक शक्ति र विश्वव्यापी प्रतिस्पर्धात्मकता सुदृढ पार्न नयाँ आप्रवासन प्रणालीमार्फत् अन्तर्राष्ट्रिय प्रतिभा तान्ने रणनीति अघि सारेको छ। आगामी पञ्चवर्षीय योजनामा पहिलोपटक ‘उच्च प्रविधि जनशक्ति आकर्षितको आप्रवासन प्रणाली’ लागु गर्ने घोषणा गरिएको छ। 

प्राविधिक प्रतिस्पर्धा तीव्र बन्दै गएको अमेरिकी दबाबका बीच चीनले यो निर्णयलाई आफ्नो दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमताको हिस्सा बनाएको विश्लेषण गरिएको छ। गतसाता सम्पन्न चिनियाँ कम्युुनिष्ट पार्टीको महत्वपूर्ण बैठकपछि सार्वजनिक योजनामा भनिएको छ,  ‘चीनले विश्वभरका उत्कृष्ट प्रतिभा आकर्षण गर्ने र तिनलाई विकास गर्ने’ तथा ‘शिक्षा,विज्ञान र जनशक्ति क्षेत्रमा विश्वस्तरको प्रभावशाली केन्द्र’ निर्माण गर्ने लक्ष्य लिएको छ।

यस योजनाअन्तर्गत इन्जिनियर,दक्ष प्राविधिक,अनुसन्धानकर्ता र उच्च सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिइने छ । 

‘के भिसा’ बाट शुरु भएको नयाँ खुलापनको संकेत

यसअघि गत महिना चीनले ‘के भिसा’ योजना ल्याएको थियो । जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका स्नातक युवाहरूलाई बिना रोजगार प्रस्ताव पनि चीनमा अध्ययन, बसोबास र रोजगारीका अवसर दिने व्यवस्था गरिएको छ।

बेइजिङस्थित थिङ्क ट्यांक सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेसनकी उपाध्यक्ष झेङ जिनलियानका अनुसार, ‘यो घोषणा अन्तर्राष्ट्रिय समुदायका लागि चीनको थप खुलापनको संकेत हो।’

‘अमेरिकाले चिढ्याउँदा चीनमा अवसर’

सांघाइस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीका प्राध्यापक जोसेफ ग्रेगरी माहोनीका अनुसार, ‘अमेरिकाले विदेशी विज्ञहरूलाई क्रमशः अलग्याउँदै प्रविधि नाकाबन्दी गर्ने प्रयास गरिरहेको अवस्थामा चीनले आत्मनिर्भरता र विश्वव्यापी प्रतिभा आर्कषणमा जोड दिनुपर्ने हुन्छ।’ उनले थपे, ‘अमेरिकाले विगतमा आप्रवासनमार्फत् आफ्नो प्रविधि क्षेत्र बलियो बनाएकाले त्यसले चीनलाई पनि सिक्ने अवसर मिलेको छ ।’

चीनमा अन्तर्राष्ट्रिय विद्यार्थी अझै सीमित

शिक्षा मन्त्रालयको पछिल्ला तथ्यांकअनुसार, सन् २०२१ मा चिनियाँ विश्वविद्यालयहरूमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या २ लाख ५५ हजार ७२० मात्र थियो । जुन कुल विद्यार्थी संख्याको १ प्रतिशतभन्दा कम हुन आउँथ्यो ।

त्यो वर्ष अमेरिकामा भने स्नातकोत्तर तहमा अध्ययनरत ४५ प्रतिशत विद्यार्थी विदेशी थिए। झेङका अनुसार, ‘हामीले अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्छ। शिक्षा प्रणालीमार्फत प्रतिभा आकर्षण गर्नु अमेरिकी शैली हो, र यो विश्वव्यापी मान्य अभ्याससँग मेल खान्छ।’

‘चीन सबै दिशाबाट प्रतिभा स्वागत गर्न तयार’

माहोनीका अनुसार, चीनले यसअघि नै विदेशमा रहेका चिनियाँ वैज्ञानिक र प्राविधिकलाई फर्काउने योजना बनाएको थियो । तर अब त्यो नीति विश्वका सबै मुलुक र क्षेत्रबाट सीपयुक्त जनशक्तिलाई स्वागत गर्ने दिशामा विकसित भएको अवस्था छ ।

तर अमेरिका–चीनबीचको पछिल्लो तनाव र सन् २०१८ मा ट्रम्प प्रशासनले सुरु गरेको चाइना इनिसिएटिभ्सले धेरै चिनियाँ मूलका वैज्ञानिकलाई अमेरिका छाड्न बाध्य बनाएको अध्ययनले देखाएको छ । २०१८ पछि त्यस्ता विज्ञहरूले अमेरिका छाडेको दर ७५ प्रतिशतले बढेको एक अध्ययनमा उल्लेख छ ।

स्राेत : साउथ चाइना मर्निंग पाेष्ट ।

टिप्पणीहरू