बालेनको दावी फेरि पनि झुटो सावित
जेनजी प्रदर्शनका नाममा भदौ २४ गते भएको विध्वंशमा सार्वजनिक सम्पत्तिमाथि ठूलो क्षति पुगेको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, विधायिकी केन्द्र संसद् भवन, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालतलगायत सयौं सरकारी कार्यालय ध्वस्त भएको छ । आपराधिक जत्थाले २४ गते दिउँसो आगो सल्काएकोमा भदौ २५ गतेसम्म ती संरचना बलिरहेको थियो ।
ऐतिहासिक सिंहदरबार जल्दा केही मीनेटको दूरीमा रहेको दमकल नपठाएर रमिते बनेको आरोपका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले घटनाको ठ्याक्कै एक महिनापछि सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका थिए । उनले महानगरको दमकल आगो निभाउन सबैभन्दा अगाडि घटनास्थल पुगेको दाबी गरेका हुन् ।
सो दाबी झुटो पुष्टि भएको छ । काठमाडौँको नभई ललितपुर महानगरको दमकल सबैभन्दा अगाडि आगो निभाउन पुगेको रहेछ । सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, यातायात व्यवस्था विभाग, हिल्टन होटल, कोटेश्वर र चुच्चेपाटीस्थित भाटभटेनीको आगो निभाउने ललितपुर महानगरको दमकल हो । २४ गते नै ललितपुरको दमकल आगो निभाउन सिंहदरबार पुगेको थियो । भदौ २५ गते न्यायाधीश प्रकाशमानसिंह राउतले ललितपुरका मेयर चिरीबाबु महर्जनलाई फोन गरेपछि मात्र पुल्चोकबाट दमकल आएर आगो निभाउन थालेको हो । ललितपुर महानगरसँग तीन वटा दमकल र दुई वटा पानी ट्याङ्कर छ । दमकलमा २५ सय लिटर पानी र १५ सय लिटर फोम अटाउँछ ।
त्यसैगरी, दुवै पानी ट्यांकर ६–६ हजार लिटर क्षमताको रहेको छ । आगो लागेपछि महानगरको सम्पूर्ण स्रोतसाधन परिचालन गरिएको ललितपुरका नगरप्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन् । उनका अनुसार मेयर चिरिबाबुको आदेशलगत्तै नगर प्रहरीसहित दमकल परिचालन भएको हो । सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा लगाइएको आगो ललितपुरको दमकलले निभाएको उनले जानकारी दिए । ‘ललितपुरका पाँच–६ ठाउँमा मात्रै आगजनी भएको छ । ती हामीले बेलैमा नियन्त्रणमा लिइहाल्यौं । काठमाडौँमा पनि धेरै त यहीँको दमकल र ट्यांकरले आगो निभायो । हामीसँग आधुनिक किसिमको दमकल छ, जुन अन्य स्थानीय पालिकासँग पनि छैन’, उनले भने ।
एकपछि अर्को झूठ
उक्त घटनापछि काठमाडौँ महानगर प्रहरी बलका एसपी विष्णुप्रसाद जोशीले तत्काल ललितपुरसँग सहयोग मागिएको ठोकुवा गरेका छन् । तर, त्यसरी सहयोगका लागि कुनै फोन नआएको पाइएको छ । काठमाडौंका भौतिक संरचना दनदनी बल्न थालेपछि ललितपुरका मेयर महर्जनले दमकल परिचालन गर्न निर्देशन दिएका थिए । स्रोतका अनुसार महानगरले गुहार मागेको भए आगो लाग्नेबित्तिकै दमकल परिचालन भइहाल्थ्यो । स्रोत भन्छ, ‘एउटा जिल्लामा आगो लागे त्यहाँका सम्बन्धित निकायले फोन नगरेसम्म अर्को जिल्लाको दमकल परिचालन गर्न मिल्दैन । त्यस दिन काठमाडौंले हामीलाई फोन नै गरेन । सर्वत्र आगो बलेपछि मेयर साबको आदेशमा हामी खटिएका हौं । उताबाट बेलैमा हामीलाई सूचना दिइएको भए, त्यति धेरै क्षतिचाहिँ हुन पाउँदैनथ्यो ।’ जताततै विवाद भएपछि बच्नका लागि सहयोग मागेको भनेको हुन सक्ने स्रोतको जिकिर छ ।
टिप्पणीहरू