विद्या भण्डारी र केपी ओलीबीच फेरि फोनमै विवाद

विद्या भण्डारी र केपी ओलीबीच फेरि फोनमै विवाद

भदौ २३ र २४ को घटना अनि त्यसपछिको परिस्थितिलाई लिएर एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भनाभन भएको खबर छ । आफैँद्वारा पार्टीमा प्रतिवन्ध लगाइएकी भण्डारीसँग केही दिनअघि ओलीले टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा अहिलेको राजनीतिक परिस्थितिबारे छलफल हुँदै जाँदा फोनमै नोंकझोंक चलेको स्रोतले बतायो । ओलीले पार्टीका बैठक र सार्वजनिक मञ्चहरूबाट बाह्य शक्ति केन्द्रको उक्साहटमा आफूलाई षड्यन्त्रपूर्वक हटाइएको दाबी गर्दै आएका छन् ।

पूर्वराष्ट्रपतिसँगको कुराकानीमा पनि सोही कुरा दोहो¥याउँदै भदौ २४ को घटनालाई प्रतिक्रान्तिको संज्ञा दिए । स्रोतका अनुसार, ‘प्रतिक्रान्ति भयो’ भनेर उनले आफ्नो बचाऊ गर्दा विद्याले असहमति जनाउँदै ‘सत्ता तपाईंसँग थियो अनि कसरी प्रतिक्रान्ति हुन्छ ?’ भनी प्रतिप्रश्न गरेपछि ओली झाेंक्किएका थिए । ‘तपाईंलाई काँग्रेसको त्यत्रो समर्थन थियो, दुई तिहाइको सरकारले थाम्न नसक्ने अनि प्रतिक्रान्ति भनेर अरुलाई दोष दिने ?’ विद्याले कडा प्रश्न गरेपछि ओली रिसाएको र फोनमै विवाद भएको स्रोत बताउँछ । चर्काचर्की त्यत्तिमै रोकिएन, भदौ २४ को विध्वंशमा भंगालस्थित भण्डारी निवास जलेको विषयमा पनि दुई जनाबीच तीतोपीरो भयो । आफ्नै पूर्वउपाध्यक्षको घर डढाउने कुकर्ममा संलग्न रहेको आरोपमा गुण्डा नाइके चक्रे मिलनसँगै राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन् । उनी अध्यक्ष ओलीको सुरक्षामा खटिने गरेको र ललितपुर धोवीघाटस्थित रामबाग महलमा बसेको पछिल्लो केन्द्रीय कमिटी बैठकलाई समेत सुरक्षा प्रदान गरेको भिडियो सार्वजनिक भैसकेको छ ।

तर, ओलीले भने आफ्नै सुरक्षामा हिँडेका थेवेलाई कांग्रेस कार्यकर्ता भएको झूठो दाबी गरेका छन् । आफूलाई दोष आउने भएपछि विद्यासँगको फोन संवादमा उनले प्रष्टीकरण दिँदै भनेका थिए, ‘त्यो कांग्रेसको केटा हो ।’ त्यसो त, हत्तपत्त कमजोरी स्वीकार नगर्ने र आफ्नो अडान नछोड्ने केपी ओलीको विशेषता नै हो । तथ्य र प्रमाणले भन्दा तर्क–वितर्कले आफ्ना कुरा माथि पार्न खप्पिस उनले अहिले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठनको बहसलाई पनि त्यसैगरी पन्छाउने रणनीति बनाएका छन् ।

जेनजी विध्वंशपछि पार्टीभित्र र बाहिरबाट आफ्नो नेतृत्वमाथि प्रश्न उठिरहँदा मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गराएर तत्कालको चुनौती टारेका ओलीले सहजै अध्यक्ष छोड्ने देखिंदैन । ‘आफूले छोड्नुपरे कुर्सी भाँचिदिने’ स्वभावका उनी चार वटा विकल्पसहित महाधिवेशनमा जाने तयारीसहित आन्तरिक गृहकार्यमा जुटेको नेताहरूलाई थाहा छ ।

ओलीको स्वभाव र कार्यशैलीलाई नजिकबाट बुझेकाहरू भन्छन्, ‘महाधिवेशनपछि पनि नेतृत्व छोड्ने मनस्थितिमा छैनन् । प्लान ए, बि, सि र डि बनाएर बसेका छन् । अध्यक्षको रणनीतिबारे जानकार एक नेताका अनुसार आफूलाई चुनौती दिनेलाई क्रमशः किनाराकृत गर्दै महाधिवेशनमा एकलौटी गर्ने प्लान एअन्तर्गत पहिलो घानमा १० भाइ समूहका नेताहरू पर्नेछन् । त्यसपछि अहिलेको घटनामा खुलेर साथ नदिएका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पिएस गुरुङ, सचिव छविलाल विश्वकर्मा र रघुवीर महासेठलाई टार्गेट गरिनेछ । प्लान ए सफल नभए पूर्वराष्ट्रपति भण्डारीको समर्थन लिन प्रयास गर्ने योजना छ । त्यसका लागि पहिले आफैँले रोकेको भण्डारीको सदस्यता नवीकरण गराउने र मिलेर जान औपचारिक प्रस्ताव राखिनेछ । त्यसअघि ओलीले आफूविरुद्ध चुनावमा उठ्न नपाइने शर्त राख्नेछन् ।

तर, अध्यक्ष लड्ने तयारीसहित गत असारमै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले त्यस्तो प्रस्ताव मान्ने सम्भावना देखिँदैन । त्यसो हुँदा उनलाई महाधिवेशनमा सहअध्यक्ष प्रस्ताव गर्ने र चुनावपछि नेतृत्व हस्तान्तरणको उधारो सम्झौता गरिनसक्छ । यसमा सहमति हुँदा विद्याले भनेका दुई–चार जनालाई पदाधिकारी बनाइनेछ ।

यी तीनवटा विकल्पको प्रयोगले पनि नेतृत्व छोड्नै पर्ने अवस्था आए शंकर पोखरेललाई अध्यक्ष र प्रदिप ज्ञवालीलाई महासचिवमा अघि सारिनेछ । यसलाई ओलीको ‘प्लान डि’ भन्ने एक उपाध्यक्ष सुनाउँछन्, ‘अहिले आफैँ अध्यक्ष हुने भनेर प्रतिनिधि ल्याउने अनि महाधिवेशनको माहोल प्रतिकूल भयो भने शंकरलाई अध्यक्ष र प्रदिपलाई महासचिव घोषणा गरेर टुंग्याउने तयारीमा छन् ।’ तर, शंकरलाई अध्यक्ष उठाउँदा विष्णु पौडेलले काउण्टर दिने सम्भावना रहेको उनै बताउँछन् ।
 

टिप्पणीहरू