त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेस्रो हार

त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेस्रो हार

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार दिउँसो भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो । जारी सिरिजमा अमेरिकासँग यो दोस्रो हार हो ।

जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ७३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अमेरिकालाई जित दिलाउन साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले अर्धसतक बनाए । साइतेजाले ७५, मिलिन्द कुमारले ७०, शायान जाहंगिरले ३६, शुभम रान्जानेले १९, समित पटेलले १६, सन्जय कृष्णमुर्तीले १५ र हर्मित शिंहले १३ रन बनाए । 

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर तीन विकेट लिँदा गुलसन झा, नन्दन यादव र करण केसीले समान एक/एक विकेट लिए।

यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण इनिंस खेल्दा  कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।

अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिँदा सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई/दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक/एक विकेट लिए ।

जितसँगै अमेरिका २३ खेलबाट ३४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने १९ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा यथावत रहेको छ ।

टिप्पणीहरू