राष्ट्रपति कतार प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । उहाँ भोलिदेखि २० गतेसम्म आयोजना हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन जानुभएको हो ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ कतार एअरवेजको उडानमा त्यता उड्नुभएको हो । राष्ट्रपति पौडेलले भोलि सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलन संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार ३० वर्षपछि हुन लागेको हो । दोहामा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले भेटवार्ता गर्ने बताइएको छ ।
यसअघि यस्तो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यस पटकको सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल गरिँदैछ ।
राष्ट्रपति पौडेल आगामी बिहीबार स्वदेश फर्कने कार्यतालिका छ ।
टिप्पणीहरू