दुर्गा प्रसाईंलाई दिल्लीमा सुझाव :हाम्रो समर्थन नखोज्नु

दुर्गा प्रसाईंलाई दिल्लीमा सुझाव :हाम्रो समर्थन नखोज्नु

राजतन्त्र र हिन्दुराष्ट्र स्थापनाको नाममा देशभर अभियान चलाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गां प्रसाईप्रति भारतले खुलेर असन्तुष्टि जनाएको छ । नयाँ दिल्लीले नेपाल नीतिलाई अहस्तक्षेपमा केन्द्रित राख्दै प्रसाईंका ‘भारतीय समर्थनका दावीहरू’लाई अस्वीकार गरेको बताइएको छ ।

दिल्लीस्थित सरकारी अधिकारीहरूले प्रसाईंको पछिल्लो भारत भ्रमण‘व्यक्तिगत स्वास्थ्य उपचारसँग सम्बन्धित’ भएको स्पष्ट पारेका छन् । उनीहरुले भारतको नेपाल नीति लोकतान्त्रिक संस्थाहरूसँगको सहकार्य र आन्तरिक मामिलामा असंलग्नतामाथि आधारित रहेको बताए ।

‘भारतमा राजनीति नगर्न चेतावनी’

भारतीय टेलिभिजन एनडिटिभीले उद्धृत गरेका भारतीय अधिकारीका अनुसार, ‘प्रसाईंलाई भारतमा कुनै राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दावी नगर्न चेतावनी दिइएको छ ।’ उपचारका नाममा पछिल्ला केही साता दुई पटकसम्म दिल्ली पुगेका उनले आफ्नो भ्रमणलाई ‘भारतीय नेताहरूसँगको भेटघाट र राजतन्त्र पुनःस्थापनाका लागि समर्थन लिनमा गरिएको पहल’का रूपमा प्रचार गर्दै आएका छन् । तर, अधिकारीहरूले भने प्रसाईंको यस्ता गतिविधिमा भारतको कुनै चासो वा संलग्नता नभएको दोहोर्याएका छन् ।

दिल्लीको असन्तुष्टि बढ्दो

स्रोतका अनुसार प्रसाईंले बारम्बार भारतीय समर्थनको हवाला दिँदै आफ्नो रोटी सेक्न खोजेपछि दिल्लीमा असन्तुष्टि बढेको हो । ‘प्रसाईंसँग हाम्रो प्रत्यक्ष वा परोक्ष सम्बन्ध छैन,उनी पूर्ण रूपमा नेपालकै आन्तरिक राजनीतिक पात्र हुन्,’ नेपाल मामिला हेर्ने एक वरिष्ठ अधिकारीको भनाइ उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।

यसपटक पनि प्रसाईं र उनका छोरा दुवैले कुनै भारतीय सरकारी वा राजनीतिक प्रतिनिधिसँग भेटघाट गर्न सकेका छैनन् । यस्ता प्रयास अघिल्ला भ्रमणहरूमा पनि असफल रहेको स्रोतले बताएको छ ।

प्रसाईले आगामी मंसिर पहिलो साता राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनाका मागसहित ठूलो विरोध प्रदर्शन हुने बताउँदै आएका छन् । त्यसपछि देशभर सडक अवरोध र आन्दोलन चर्काउने योजना छ । उनका पछिल्ला प्रदर्शनहरू हिंसात्मक घटना र आगजनीका प्रसङ्गहरूसँग जोडिएका छन्। गत चैत १५ गते हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका बेला भारतीय सुरक्षाले पक्राउ गरी नेपालमै बुझाएको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू