क्रिकेटका रहर, क्रिकेटका कुरा

क्रिकेटका रहर, क्रिकेटका कुरा

म क्रिकेट बुझ्दिन । यसै पनि क्रिकेट खेल्नेलाई मुर्ख र हेर्नेलाई महामुर्ख भन्ने गरिन्छ । हुन त अझै पनि टेष्ट क्रिकेट समेत नछुटाई हेर्नेहरुको संख्या बाक्लै छ । क्रिकेटको छोटो संरचना ट्वेन्टी–ट्वेन्टीले क्रिकेट नहेर्नेहरुलाई पनि हेर्ने बनाइदिएको छ । नबुझ्नेलाई पनि बुझ्ने बनाइदिएको छ । क्रिकेटप्रति अनिच्छुकलाई पनि इच्छुक र जिज्ञासु बनाइदिएको छ ।

असोज अन्तिम हप्ता क्रिकेट नहेर्नेहरु पनि हेर्ने भए । चिया गफको विषय बन्यो । कारण थियो– नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपमा छनोट हुनु । क्रिकेट नबुझ्नेहरु पनि यो खुसीमा सामेल हुनका लागि राति अवेरसम्म अनिदो बसे । त्यसमा म पनि मिसिएँ । ओमानमा गत महिनाको अन्तिममा भएको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित रहँदै उपाधिसहित विश्वकपमा छनोट भयो । नेपालले जितेको यो आईसीसीको अहिलेसम्मकै ठूलो उपाधि थियो । 

कुरा यत्तिमै सकिएन । नेपालले त्यो प्रतियोगितामा हारको नजिकबाट जित निकाल्यो । वा यसरी भनौं, विपक्षीको मुखमा पुगिसकेको जित खोसेर ल्यायो । अझैसम्म पनि नेपालले यूएईविरुद्ध निकालेको जित नेपाली समर्थकले झलझली सम्झिरहेका छन । कतारविरुद्धको जित पनि त्यत्तिकै रोमाञ्चक बन्यो । क्रिकेट नबुझ्नेले भन्ने सहज कुरा छ, आफूले पहिले ब्याटिङ गर्दा आफूले धेरै रन बनाउने विपक्षीलाई रन धेरै बनाउन नदिने । शुरुमा आफूले बलिङ गरे पनि विपक्षीलाई धेरै रन बनाउन नदिने । 

नेपालले हारेका जति पनि खेलहरु छन– डेथ ओभरमा सम्हालिन नसक्दा हो । नेपालले डेथ ओभरमा गर्न नहुने गल्ती गरिरहेको छ । वा भनौं उल्टो गरिरहेको छ । डेथ ओभरमा बलिङ गर्दा रन रोक्न सकिरहेको छ । आफूले ब्याटिङ गर्दा रन बनाउन सकिरहेको छैन । उदाहरणका लागि आईसीसी लिग टूको अमेरिकासँगको खेल हेरौं नेपालले २७२ रनको लक्ष्य पनि जोगाउन सकेन । त्यसको प्रमुख कारण थियो ।

नेपालले अन्तिम दुई ओभरमा ३० रन दियो र अमेरिकाले एक ओभर अगावै लक्ष्य पूरा गर्‍यो । अमेरिकासँगको पहिलो खेलको कुरा गर्दा नेपालले लक्ष्य भेट्न सकेन । जबकी अमेरिकाले ठूलो लक्ष्य सहजै भेट्टायो । नेपालले त्यो भन्दा कम रनको लक्ष्य चेज गर्न सकेन । कारण उही हो ।

नेपालको ओमान भ्रमण सुखद र यूएई भ्रमण किन सुखद रहेन त ? नेपाल ट्वेन्टी–ट्वेन्टीमा बलियो अनि एक दिवसीय कमजोर हो त ? त्यसो पनि होइन, नेपालको ट्वेन्टी–ट्वेन्टी र एक दिवसीयमा लगभग उही खेलाडी छन । कुरा यत्तिमात्रै हो, ओमान भ्रमण र वेष्टइण्डिजविरुद्धको जितले छोपेका गल्ती र कमजोरीहरु यूएई भ्रमणले देखाइ दिएको मात्रै हो । त्रिकोणात्मक एकदिवसीय सिरिजअघि वेष्ट इण्डिजसँगको ऐतिहासिक सिरिजले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको झिल्को देखाएको थियो । विश्वकप लिग–२ अन्तर्गत अमेरिकाग र यूएईसँग खेलेको खेलहरूले ती सम्भावनालाई छायामा पार्‍यो । 

नेपालले ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो खेल कौशल देखाए पनि एकदिवसीय छनोटमा भने लय नै हरायो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर हुनुको नतिजा हार नै हो, त्यही भयो यूएई भ्रमणमा । सबै खेल जितेर अंक तालिका सुधार गर्ने । तर नतिजा आयो सबै खेलमा हार । अंकतालिकामा जहाँको त्यहीँ । बरु यूएईले दुई खेल जितेर नेपालसँगको अंक दूरी कम गरेको छ । समान २० खेलबाट नेपालको १२ र यूएईको १० अंक छ । आठ टोली सहभागी लिगमा नेपाल सातौं र यूएई आठौं स्थानमा छ ।

त्रिकोणात्मक सिरिजमा लगातार हारले नेपाल पुनः लिग–२ को कठिन यात्रामा धकेलिएको छ । यो सिरिजमा कप्तानदेखि मौका पाएका खेलाडीसम्मको प्रदर्शन बिर्सिनलायक बनेको हो । अमेरिकाविरुद्धको दोस्रो खेलमा टोलीको कमजोर फिल्डिङ हारको कारण बन्यो । सुरुवाती खेलको तुलनामा ब्याटिङमा सुधारिएको प्रर्दशन गरेको नेपाली टोलीको मध्यक्रम कमजोर देखियो । पावर प्लेमा टिक्न नसक्नु र डेथ ओभरमा आक्रमक पारी खेल्न नसक्नु नेपाली टोलीको हारको प्रमुख कारण बन्दै आएको छ । 

सिरिजमा आशा गरिएका बलर ललित राजवंशी र कुशल भुर्तेल चलेनन । टोलीका अनुभवी खेलाडी सोमपाल कामीको प्रर्दशन प्रशंसा योग्य रहेन । व्यक्तिगत प्रर्दशनमा कप्तान रोहित पौडेलले यूएईविरुद्ध शतक प्रहार गर्दै एक दिवसीयमा दुई शतक बनाउने पहिलो खेलाडी बने । रोहितले शतक बनाएको दुबै खेल नेपालले गुमायो ।

लिग–२ मा २० खेल खेलिसकेको नेपालले ५ खेल मात्र जित्दा १३ खेल हार्‍यो । २ खेलमा भने अंक बाँडेको छ । ५ खेलको जित र २ खेलमा अंक बाँडेपछि नेपाली टोली १२ अंकमा तालिकाको सातौँ स्थानमा छ । अर्थात पुछारबाट नेपाली टोली दोस्रो स्थानमा छ । नेपालसँगै समान २० खेल खेलेको यूएई छ खेलमा जित र १४ खेलमा हार भोग्दै १० अंकका साथ तालिकाको पुछारमा छ । १८ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । यूएईमा लगातार हार भोगेपछि नेपाललाई सिधै विश्वकप छनोट खेल्न र एक दिवसीय मान्यता जोगाउन पनि कठिन पर्ने देखिएको छ । 

यसअघि पनि नेपालको ओडीआई मान्यता संकटमा परेको समयमा मोन्टी देसाई मुख्य प्रशिक्षकको रुपमा आएर नेपाललाई नयाँ बाटो देखाएका थिए । देसाईको बिदाइ र स्टुआर्ट लको आगमनपछि नेपाली टोलीको आगामी यात्रा सहज बन्ने देखिए पनि लिग–२ यात्रा थप कठिन बन्दै गएको छ । 

लिग–२ मा नेपालले अब १६ खेल खेल्न बाँकी छ । अंक गणितीय हिसाबलाई हेर्ने हो भने नेपालको ओडीआई मान्यता जोगाउनका लागि आगामी यात्रामा भर पर्नेछ । तर टेस्ट टोलीको सपना पछ्याइरहेको नेपाली टोलीको अहिलेको प्रदर्शनले भने नेपालको ओडीआई मान्यता पनि संकटमा पर्ने देखिएको छ ।

विश्वकप लिग–२ मा नेपालको यात्रा

विश्वकप लिग–२ २०२३–२४–२७ यात्रा नेपालले घरेलु मैदानबाट सुरु गरेको थियो । घरेलु मैदानमा नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यानड्सलाई ९ विकेटले हराएको नेपालले सिरिजको तेस्रो खेलमा नामिबियासँग २ विकेटले हार भोगेको थियो । 

सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो। ओमान र क्यानडासम्मिलित सिरिजमा नेपाल क्यानडासँग १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटको हार व्यहोरेको थियो । ओमानसँग पहिलो खेलमा १ विकेटको हार भोग्दा दोस्रो खेलमा भने अंक बाँड्यो । 

अमेरिकाको डालासमा भएको स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा अमेरिकासँग ३७ रनले पराजित हुँदा स्कटल्यान्डसँग अंक बाँडेको थियो । 

स्कटल्यान्डको डुन्डीमा भएको नेदरल्यान्डसम्मिलित सिरिजमा नेपालले घरेलु टोलीलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा  नेदरल्यान्डलाई ५ विकेटले तथा स्कटल्यान्डलाई २ रनले पाखा लगाएको थियो । अन्तिम खेलमा भने डच टोलीलाई १६ रनले हराएको थियो ।

नेपालका लागि एक दिवसीय यात्रा विपक्षीका हिसाबले भन्दा पनि फम्र्याटका हिसाबले केही चूनौतीपूर्ण देखियो । नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल एवम् अभ्यास गरेन । असारमा लिग २ खेलेपछि निरन्तर टी–२०मा सक्रिय रहेका खेलाडीहरू केही दिनकै अन्तरमा एक दिवसीयमा स्वीच हुनपर्‍यो । पछिल्लोपटक लिग २ खेल्दा ब्याटिङमा निकै सुधार भएको देखिएको थियो ।

तर यूएईमा त्यो पनि गलत सावित भयो । प्रारम्भिक जोडीले लामो साझेदारी गर्न सकेन । मध्यक्रमले क्रिजमा टिक्न जानेन अनि पुछारका ब्याटरले आक्रमकता देखाउन सकेन, हारको कारण यी र यस्तै देखिए । हुन त कुनै समय नेपालले अफगानिस्तानलाई हराउँथ्यो । अमेरिका नेपालको लागि कमजोर प्रतिद्वन्द्वी थियो । तर अहिले अवस्था फेरिएको छ । खेलकूद इतिहासले लेखिने होइन वर्तमानले बनाउने हो भन्ने स्पष्ट भइसकेको छ । 

पहिले पहिले क्रिकेटमा लगानी भएन, एक्स्पोजर भएन भनिन्थो । खेलाडीले सुविधा पाएनन भनिन्थो तर पुरुष क्रिकेट टोलीले आकर्षक सुविधा पाइरहेका छन । फ्रेन्जाइजी लिगले खेलाडीलाई बाँच्न सक्ने आधार दिइसकेको छ । क्रिकेटले पहिचान दिएको छ । तर पनि नतिजा नआउँदा कसलाई दोष दिएर पन्छिने ? 
 

टिप्पणीहरू