कतिसम्म एक्सपोज गर्ने जासुसहरूलाई ?
गुप्तचरी निकायलाई राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण निकायका रूपमा हेरिन्छ । विश्वका अधिकांश मुलुकले आफ्नो राष्ट्रिय हित प्रवद्र्धनका लागि जासुसी संयन्त्रलाई शक्तिसम्पन्न बनाएका हुन्छन् । अमेरिकाको सुरक्षा एजेन्सी (सिआइए), भारतको इन्टेलिजेन्स ब्युरो (आइबी) सहित रिसर्च एण्ड एनालाइसिस विङ (र), इजरायलको मोसाद (इन्स्टिच्युट फर इन्टेलिजेन्स एण्ड स्पेशल अपरेसन्स) विश्वमै शक्तिशाली जासुसी संयन्त्रका रूपमा परिचित छन् ।
सूचना, प्रविधिको तीव्र विकाससँगै विश्वराजनीतिमा आएको शक्ति सन्तुलनले गुप्तचरी संस्थाको महत्वलाई थप स्थापित गरेको छ । महाशक्ति राष्ट्र अमेरिका, चीन, रूस, भारतलगायत थुप्रै युरोपियन मुलुकमा सूचना संकलनदेखि रणनीति निर्माणसम्ममा जासुसी संयन्त्रको भूमिका निर्णायक रहेको देखिन्छ । यिनीहरूले सात समुद्रपारिको देशमा सत्ता नै पल्टाउने हैसियत राखेका हुन्छन् ।
शक्तिशाली मुलुकले गुप्तचरी संस्थालाई कति महत्व दिएका हुन्छन् भन्ने उदाहरण नजिकैको छिमेकी भारतलाई हेर्दा छर्लंग हुन्छ । त्यहाँ आइबीका पूर्वप्रमुख अजित डोभाल सन् २०१४ देखि लगातार प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार छन् । भारतको ‘जेम्स ब्राण्ड’ भनिने उनी पाकिस्तानलगायत विभिन्न मुलुकमा जासुसी र प्रतिजासुसी गर्न माहिर मानिन्थे । उनैलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनपिङसँग वार्ता गर्नसमेत खटाइन्छ ।
अपदस्थ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘र’ प्रमुख सामन्त गोयललाई मध्यराति बालुवाटार बोलाएर भेटेपछि नेपाली राजनीतिमा आएको परिवर्तनलाई पनि जासुसी संयन्त्रको भूमिकासँग जोडेर हेर्न सकिन्छ । ओली र गोयलको गुप्त भेटलगत्तै भएको प्रतिनिधिसभा विघटन र नेकपाको विभाजनलाई संयोग मात्र मान्न सकिँदैन । शक्तिशाली मुलुकहरूले आफ्नो जासुसी संयन्त्रलाई यसरी बलियो बनाएर राष्ट्रिय हितमा प्रयोग गर्दा नेपालमा भने गुप्तचर निकायको भूमिका लामो समयदेखि प्रश्नको घेरामा रहँदै आएको छ । राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयको सूचना संकलन गरी सरकारलाई जानकारी गराउने, सम्भावित अवस्थाको विश्लेषण गर्ने र पूर्वसूचना दिने जिम्मेवारीसहित राष्ट्रिय अनुसन्धान विभाग अस्तित्वमा छ । राज्यले करोडौंको लगानीमा उच्चस्तरीय तालिम, प्रविधि, हतियार र जनशक्ति व्यवस्थापन पनि गरेको छ ।
राष्ट्रिय होस् कि अन्तर्राष्ट्रिय क्षेत्रबाट हुनसक्ने राष्ट्रिय सुरक्षामाथि खतराको पूर्वानुमान गर्न सक्नु र त्यसअनुसार सरकारलाई ट्याकल गर्नका लागि पूर्वसूचना दिनु वा अभ्यास गराउनु गुप्तचरहरूको पहिलो काम हुन्छ । तर, देशको यो महत्वपूर्ण संयन्त्रलाई कतिसम्म निकम्मा बनाइएको छ भन्ने ताजा उदाहरण हो– भदौ २३ र २४ को घटना । २३ को प्रदर्शन र भोलिपल्ट मच्चाइएको विध्वंशले केपी शर्मा ओलीको सत्ता मात्र ढलेन, बालुवाटारबाटै हेलिकोप्टर चढेर भाग्नुपर्यो । करिब १२ घण्टामै सत्तापलट भएको यो घटना सामान्य होइन । तर, विचित्रको अवस्थाचाहिँ मुलुकको कार्यकारी प्रमुखले अघिल्लो दिनसम्म आफ्नो सत्ता ढल्दै गरेको अनुमानसमेत गर्न नसकेको तथ्य यो घटनाले सतहमा ल्याइदिएको छ । जबकि राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखिएको थियो । यसले हाम्रो जासुसी संयन्त्रलाई कतिसम्म पंगु बनाइएको रहेछ भन्ने स्पष्ट हुन्छ ।
त्यसो त, राअविको कमजोरी सतहमा आएको यो नै पहिलो घटना होइन । यसअघि बालकुमारी गोलीकाण्ड र तीनकुनेको राजावादी विध्वंशमा पनि चुकेको थियो । यस्ता घटना बारम्बार दोहोरिँदा गुप्तचर निकायमात्र होइन उसको नेतृत्व र परिचालनकर्ताको क्षमतामाथि पनि गम्भीर प्रश्न गर्नुपर्ने भएको छ । सुरक्षा मामिलाका विज्ञहरू यसलाई समग्रतामा हेर्नुपर्ने बताउँछन् । राष्ट्रिय अनुसन्धान विभागको अहिलेको संरचना र परिचालन प्रक्रियामै कमजोरी देख्छन्, एकजना पूर्वप्रहरी अधिकारी ।
‘हामीकहाँ गुप्तचरी तालिम कस्तो हुन्छ, गुप्तचरका मान्छेहरू कतिसम्म एक्स्पोज हुने भन्ने कुरा सरकारले नै खुट्याउन सकेको छैन’, उनी भन्छन्, ‘खुट्याउन सकेको भए सार्वजनिक कार्यक्रममा अनुसन्धान कार्यालयका मान्छेलाई अतिथि बनाइने थिएन ।’ अमेरिका, चीन र रुसको कुरा छोडौँ, भारतमा सूचना संकलनको लागि आवश्यक जनशक्ति तयार गर्न गुप्तचरहरूले भित्रभित्र विभिन्न किसिमका खेल मञ्चन गर्छन् । उनीहरूको पहिचान अत्यन्त गोप्य राखिन्छ । नेपालमा भने खुलेआम सार्वजिक सभा–समारोह र कार्यक्रमहरूमा अतिथि बनेर मञ्चमा गजधम्म बसेको देखिन्छ । अनुसन्धान विभागका प्रमुख स्वयं भट्टीमा गिलास ठोक्काउँदै लर्बराएको घटनासमेत सुनिएको छ ।
गुप्तचरका लागि हुँदै नभएको इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी, डिआइजी र आइजी दर्जाले संबोधन गरिन्छ । मनगढन्ते सूचना, अखबार र सामाजिक सञ्जालमा आएका समाचारका कटिङ संकलन गर्दै मनमौजी रिपोर्ट तयार पारिन्छ । ‘षड्यन्त्र जहिल्यै पर्दा पछाडि रचिएका हुन्छन्, त्यसको आभाष पाउन अण्डरकभरझैँ गुप्तचरले काम गर्नुपर्ने सार्वभौम नियम छन्’, उनै सुरक्षाविज्ञ भन्छन्, ‘तर, हामीकहाँ त आममान्छेले पनि पहिचान गर्न सक्नेगरी एक्स्पोज भैरहेका हुन्छन् ।’ अर्कोतर्फ, सत्तारुढ नेतालाई ‘फलानाले हजुरको बारेमा यस्तो भन्यो नि !’ भन्दै गलत सूचना दिएर दलबीच तिक्तता बढाउने र आफूलाई ‘खबरीलाल’ को भूमिकामा उभ्याउने काम पनि राअविबाट हुने गरेको गुनासो छ । नेताहरू पनि गुप्तचरलाई गुप्तचरीकै हिसाबले काम गर्ने वातावरण बनाउनुको बदला त्यस्तैमा रमाएको देखिन्छ । जेन जी प्रदर्शनमा २ देखि ३ हजारसम्म प्रदर्शनकारी जम्मा हुने र प्रदर्शन शान्तिपूर्ण रहने रिपोर्टिङ दिइनुको पछाडि तत्कालीन प्रधानमन्त्रीलाई खुशी तुल्याएर स्याबासी खाने मनोविज्ञानले काम गरेको बुझ्न निधार खुम्च्याइरहनु पर्दैन ।
यो निकायलाई अझै स्वतन्त्र र सक्षम नबनाउने हो भने आगामी दिनमा पनि यस्तै बकम्फुसे रिपोर्ट तयार भैरहने र यत्रो आन्दोलन चर्किंदा पनि देशको कार्यकारी प्रमुख सडकको अवस्थाप्रति बेखबर रहने अवस्था आइरहने निश्चित छ । परिणामतः अर्को रूपको बालकुमारी गोलीकाण्ड, तीनकुने वितण्डा र भदौ २४ नदोहोरिएला भन्न सकिन्न !
(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू