पूर्वराष्ट्रपतिसँग सल्लाह गर्दै माओवादी
आफ्नै पार्टी एमालेमा फर्किने रहर तर ओलीले अन्तिममा शर्त राख्ने डर ! पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सकस हो यो । एमालेमा फर्किन इच्छुक उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षमा उम्मेदवारी नदिने भए ओके भन्ने शर्त राख्ने हो कि भन्ने लागेको छ ।
गत साता विद्यासँग भेटघाट गरेका माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘उहाँ अझै पनि पार्टीमा सक्रिय भएर त्यतैबाट राष्ट्रसेवामा लाग्न पाए हुन्थ्यो भन्ने सोचिरहनुभएको छ । तर, ओलीले अध्यक्षमा उम्मेदवारी नदिने भए मात्रै सदस्यताको गाँठो फुकाउने अन्तिम अत्तो थाप्लान् भन्ने आशंका छ ।’
यता, मंसिरको महाधिवेशनपछि एमालेसँग मिल्न सकिने विषयमा पूर्वएकता केन्द्रका आफ्ना साथीहरूलाई सन्देश प्रवाह गरिरहेको सूचना गलत भएको पनि उनले बताए । समग्र कम्युनिष्ट आन्दोलनको हितरक्षाका आधारमा अगाडि बढ्ने विषयमा कुराकानी हुने गरेको श्रेष्ठले जानकारी दिए । एमाले महाधिवेशन हेरौं, त्यसपछि ऊसँग मिल्न पनि सकिन्छ भनेर तपाइँले नेताहरूलाई तलतल म्यासेज पठाउनुभएको हो ? भन्ने जनआस्थाको प्रश्नमा भने, ‘होइन, यसरी कुराकानी गरेको छैन । ओली अध्यक्षबाट हट्ने वातावरण बन्छ कि बन्दैन, त्यसको आधारमा अगाडि बढ्ने मात्रै भनिएको हो ।’
निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिल्नका लागि एमालेसँग छलफल गरिरहेको पनि एक माओवादी नेता बताउँछन् । उनका अनुसार विप्लव एमालेसँग मिलेर रोल्पा या कपिलवस्तुबाट चुनाव लड्ने सम्भावना छ । उनले यसअघि माओवादीसँग अध्यक्षका लागि लबिङ्ग गरेको ती नेताको भनाइ छ ।
‘हरेक पार्टीसँग विप्लवले अध्यक्षको माग गरिरहेका छन् । माओवादीसँग पनि अध्यक्ष छाडिदिने भए मिल्छु भनेका थिए । एमालेले कुनै पनि हालतमा उनलाई अध्यक्ष दिँदैन । तैपनि उनी त्यतैतिर जाने सम्भावना धेरै छ’, उनले भने ।
(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू