चिनियाँ रेलमा नेपाली गभर्नरको भाषण ...

चिनियाँ रेलमा नेपाली गभर्नरको भाषण ...

चीनको उत्तर पश्चिमी ऐतिहासिक शहर सिआनबाट हिजो अपरान्ह द्रुत गतिको रेल चढेर मध्य भागको हुपेइ प्रान्तीय राजधानी वुहान आइपुगेँ । सोही क्रममा काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० उपर भएको छलफल पढेँ । प्रधानमन्त्री,अर्थमन्त्रीहरुले राजनीति मिश्रित आश्वासन दिनुलाई राज्य सञ्चालनमा अस्वाभाविक मान्न सकिएन । तर,केन्द्रीय बैंकका गभर्नर डा. विश्व पौडेलका धारणा सुनेर ३०० किलोमीटर प्रतिघण्टाको गतिमा दौडिरहेको चिनियाँ रेलभित्रबाट गगनचुम्बी भवन,फराकिला सडक,हरिया फाँटमा उत्पादित अन्नबाली,नजिकैका कलकारखानाबाट निस्केका धुवाँ र उत्पादनले गभर्नरको भनाईलाई ‘कुरीकुरी’ गरिरहेको थियो ।

गभर्नर पौडेलको हिजोको भाषणमा ‘उत्साह’ छ । तर अहिलेको हाम्रो आर्थिक अवस्थासँग मेल खाने विश्वासिलो आधार र प्रमाण भेट्टाउन सकिँदैन । अर्थतन्त्रको इतिहासबारे बोल्न रुचाउने उनले आफ्नो मन्तव्यमा बारम्बार ‘अर्थतन्त्र मनोबलले चल्छ’ भनेका छन् । तर नेपालको समस्या मनोबलको नभएर संरचनात्मक असन्तुलनको हो भन्ने हेक्का राखेको देखिएन ।

गभर्नरलाई थाहा हुनुपर्ने हो : हाम्रो व्यापार घाटा चुलिँदो अवस्थामा छ, उत्पादन क्षमतामा क्रमशः गिरावट आएको छ । पुँजी पलायन र वैदेशिक रोजगारीमा निर्भरता घट्नुको साटो बढ्दो छ । यीलगायत अनेक वस्तुगत समस्याको समाधान ‘सकारात्मक सोच’ले होइन,नीतिगत स्थिरता र राजनीतिक जिम्मेवारीबाट मात्रै पाउन सकिन्छ ।

अर्थतन्त्र सुधारका लागि नीतिगत स्थिरता,लगानी सुरक्षाको ग्यारेन्टी र उत्पादनमुखी सुधार चाहिन्छ केवल प्रेरणादायी भाषण होइन।

नेपालमा निजी क्षेत्रको आत्मविश्वास घट्नु भावना नभएर शासनको अस्थिरता हो । भदौ २३ को प्रदर्शन र २४ को विध्वंशपछि ‘मनोबल’ले अर्थतन्त्र चलायमान होला ? त्यस यता कसको मनोबल बढेको छ र कसको घटेको छ भन्ने हेक्का केन्द्रीय बैंकका अधिकारीहरुले राखेका छन् ? 

अमेरिकामा पढेका उनी प्रायः उतैको विकास,इतिहासबारे गफ दिन निकै सजिलो ठान्छन् । हिजो पनि अमेरिकी ‘न्यू डिल’को जस्तो सरकारी खर्च बढाउन सुझाव दिएका छन्। तर नेपालमा समस्या खर्च गर्न नसक्नु कारण हो,पैसाको अभाव होइन भन्नेतर्फ कुनै उपाय दिएका छैनन् ।

गभर्नरले बजेटको पुँजीगत खर्च वर्षैपिच्छे घट्दै गएको,ठेक्कापट्टा र भ्रष्टाचारले योजनाहरू अधुरो रहेको, सर्वसाधारणमा ऋण लिने क्षमता कमजोर भएकोतर्फ हेक्का राखेको देखिएन ।

गत जेठमा गभर्नर बनेदेखि केन्द्रीय बैंकको ढुकुटीमा रहेको रकमलाई २.७५ प्रतिशत ब्याजमा सरकारलाई ऋण प्रदान गर्न उनले अनुनय गरिरहेका छन् । ओली सरकारलाई झैँ अहिलेको सरकारलाई पनि सोही कुरोको सन्देश हिजोको भाषणमा दिन खोजेकोमा कुनै सन्देह छैन ।

गभर्नरको भाषणलाई यसो पनि भन्न सकिन्छ-यसले सतही आशा देखाउला तर दिशा दिँदैन । उनको मन्तव्यमा आवाज भेटिन्छ तर कुनै अर्थ देखिँदैन ।                                                                     

नेपालको ऋण जोखिम,वैदेशिक मुद्रा सन्तुलन र संस्थागत विश्वसनीयताले हाम्रो ब्याजदरको त्यो स्तरलाई कायम राख्न सक्छ ? हिजो पौडेलले पुराना व्यवसायिक घरानाले पुरानो ऋण तिर्न नयाँ ऋण लिने समस्या (एभरग्रिनिङ) लाई उनले मूल समस्या ठानेका छन् । तर,त्यो त परिणाम हो भन्नेतर्फ पौडेलले कुनै हेक्का राखेको देखिँदैन । बैंक तथा वित्तीय संस्थाको नियमन कमजोर रहेकोमा कुनै द्विविधा छैन जबकी नियमनकारी निकायको प्रमुख उनी आफैँ हुन् ।

नेपालमा राजनीतिक पहुँच र स्वार्थको प्रभाव बलियो छ,लगानी मूल्याङ्कन पारदर्शी छैन । उनी आफैँ पनि राजनीतिक पहुँचमा नियुक्ति लिएको आरोपबाट मुक्त छैनन् । यस्ता गम्भीर समस्याको सुधार नगरी ‘लेट इट गो’ भनेर दिइएको सल्लाह केवल भाषणमै सीमित रहनेमा कुनै शंका छैन ।

अमेरिकी चर्चित बहुराष्ट्रिय कम्पनीहरुको उदाहरण दिएको सन्दर्भमा गभर्नर पौडेलले विकसित मुलुकको आर्थिक पूर्वाधार,लगानी वातावरण र प्रविधि क्षमताको स्तर नेपालभन्दा कतिगुणा बढी छ भन्नेबारे बिर्सनुलाई के भन्ने ? नेपालका धेरै ग्रामीण भूभागमा अझै पनि इन्टरनेट पहुँच सीमित छ । डिजिटल भुक्तानी प्रणाली कति कमजोर छ भन्ने यथार्थ स्वयम् नेपाल राष्ट्र बैंकलाई थाहा हुनुपर्ने हो । फिनटेक र डिजिटल बैंकिङ नियमन भर्खर शुरुआती चरणमा छ । यस्तो अवस्थामा तारे होटलमा आयोजित कार्यक्रममा उभिएर दिएको ‘अब बैंक र रेमिट्यान्स कम्पनीहरू सकिन्छन्’ भन्ने कथनलाई यथार्थको सट्टा भ्रममा आधारित उपमा भन्न सकिन्छ ।

उनको सोचमा मुख्यतः किन्सियन अवधारणाबाट प्रेरित देखिन्छ अर्थात् सरकारी खर्च बढाएर आर्थिक गतिशील बनाउने । तर, सोही किन्सियन नीति सफल हुन तीन आधार चाहिनेमा उनको ध्यान गएको देखिँदैन । विश्वसनीय राज्य संयन्त्र,निरन्तर उत्पादन र उद्योगको बढ्दो लगानी क्षमता तथा वित्तीय अनुशासन । तर यी तीनै कुरा नेपालमा सबैभन्दा कमजोर छन् । त्यसैले खर्च बढाउँदा विकास होइन,भ्रष्टाचार र मुद्रास्फीति बढ्ने जोखिम बढी छ ।

गभर्नरको भाषणमा रेमिट्यान्समुखी अर्थतन्त्र,युवाहरुको पलायन,घट्दो वैदेशिक लगानी र बढ्दो ऋण अस्वीकृतिको लहरजस्ता मूल समस्यालाई उल्लेखै गरिएको छैन ।

टिप्पणीहरू