जस्तापाताको संरचना मात्रै भत्काउने ?

जस्तापाताको संरचना मात्रै भत्काउने ?

‘साना भत्काउने, ठूला छोड्ने !’ सन्दर्भ हो, काठमाडौं महानगरपालिकाको । स–साना संरचना भत्काउन मेयर बालेन्द्र (बालेन) साहको फौज डोजर लिएर पुगिरहँदा अवैध रुपमा बनेको ठूला संरचनाको हकमा भने आँखा चिम्लेर बसेको छ । जसका कारण उनीहरुको नियतमाथि प्रश्न उठिरहेको छ । बालेनले मेयरमा निर्वाचित भएदेखि नै मापदण्डविपरीत र अवैध संरचनामाथि कडाइ गरेका छन् । 

तर, महानगर प्रहरीको टोलीले ताकिताकि पहुँच नहुनेको मात्रै संरचना भत्काउँदै आएको छ । जस्तापाताको संरचना भत्काएर महानगर प्रहरीको टोलीले के–के न गरे भनिरहँदा ढलान गरेरै बनाइएको संरचनालाई भने नजरअन्दाज गरिएको अवस्था छ । जसको एउटा ज्वलन्त उदाहरण हो, महानगरीय प्रहरी वृत्त, बौद्धको भवन । 

सडक सुरक्षा र सवारी व्यवस्थापनका लागि हरहमेशा सडकमा खटिने ट्राफिक प्रहरीको सामान राख्न बनाइएको अस्थायी बिट भत्काउन महानगरको फौज डोजरसहित पुग्दा सडकको आधा भाग ओगटेको वृत्तको भवनलाई नदेखेझैं गरिएको छ । महानगरको टोली केही दिनअघि थापाथलीको राम मन्दिर परिसरमा बनाइएको ट्राफिक प्रहरीको भवन भत्काउन पुगेको थियो । 

गुठीले दिएको जग्गामा बनेको भवन भत्काउन पुगेपछि ट्राफिक प्रहरी र महानगर प्रहरीबीच विवाद भएको हो । मेयर साहका कानुनी सल्लाहकारसमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भवन नभत्काउन निर्देशन दिएपछि महानगर त्यत्तिकै फर्कियो । महानगरको टोलीले बालुवाटारस्थित ट्राफिक प्रहरीको बिट पनि हटाउन खोजेको थियो । 

यद्यपि, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बिट नहटाउन निर्देशन दिएको हो । बिट भत्काएर गौरव गर्ने महानगरले बौद्ध प्रहरी वृत्तको मापदण्डविपरीतको भवन देखेर पनि नदेखेझैं गरिरहेको स्थानीयको आरोप छ । वृत्तको भवन सडकसम्म आएको छ । अन्य भवनहरु पछाडि हुँदा वृत्तको भवन भने अगाडिसम्म छ । 

सो भवनले फुटपाथसमेत मिचिरहेको अवस्था छ । जसले गर्दा पैदलयात्रीलाई हिँड्डुल गर्न समस्या भइरहेको छ । उनीहरु बीच सडकबाट हिँड्न बाध्य छन् । यता, भवनले सडक साँघुरो बनाएकाले सवारी साधनलाई पनि ओहोरदोहोर गर्न कठिनाइ भइरहेको छ । तर, महानगरले मापदण्डविपरीत बनेको सो भवन भत्काउन चासो देखाएको छैन । 

भवन नभत्काएपछि स्थानीय महानगरदेखि आक्रोशित भएका छन् । एक स्थानीय भन्छन्,‘ससाना संरचना भत्काउन महानगरको टोली डोजर लिएर पुगिहाल्छ । बौद्ध प्रहरीको भवनले सडक नै छेकेको छ । हामीले महानगरमा गुनासो पनि गर्यौं, तर टोली अहिलेसम्म हेर्नपनि आएको छैन । भवनले गर्दा आवत्जावतमा एकदमै समस्या भइरहेको छ ।’

महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले प्रहरीसँग समन्वय गरेर मात्र भवन भत्काउन सकिने बताए । जनआस्थासँग उनले भने,‘मापदण्डविपरीत बनेका संरचना भत्काउने नै हो । त्यो प्रहरी कार्यालयको भवन भएकाले समन्वय गरेर मात्रै भत्काउन सकिन्छ ।’

 

टिप्पणीहरू