सुदन गुरुङको टोली निर्वाचन आयोगमा
जेन-जी अभियन्ता भनिएका 'हामी नेपाल' एनजिओका संस्थापक सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचनको तयारीबारे बुझ्न र आफ्ना कुरा सुनाउन गुरुङ समर्थित जेनजी प्रतिनिधिहरूको एक टोली आज बिहान कान्तिपथस्थित आयोगको कार्यालय पुगेको हो । टोलीमा रवीन्द्र बानियाँ, अनिल बानियाँलगायत २५ जना सहभागी रहेको बताइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उनीहरूले चुनावको तयारी लगायतका विषयमा चासो राखेका छन् । त्यसक्रममा गुरुङले आयोगले ढिलासुस्ती गरेको भन्दै चर्को असन्तुष्टि जनाएको बताइएको छ ।
हिमाली जिल्लामा नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन पनि उनले माग गरे । जवाफमा कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसप्रति ध्यानाकर्षण भएको बताउँदै सम्भव भएसम्म माग पूरा गर्ने प्रतिवद्धता जनाएको बताइन्छ ।
जेन-जीको माग सम्बोधन नभएसम्म चुनाव गर्न नदिने गुरुङको चेतावनी रहँदै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेकोमा सरकारसँग उनी रुष्ट छन् ।
यसैलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका गुरुङले आज पनि अर्याल नेकपा एमालेको नेताजस्तो हुँदै गएको टिप्पणी गरे ।
टिप्पणीहरू