रावललाई सुनौलो अवसर !
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का आधा दर्जन केन्द्रीय सदस्यहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिइएकाे छ ।
डा. भीम रावल निकट मानिने झपटबहादुर रावलसहितका नेता नेकपामा भित्रिन लागेको बताइन्छ । एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान चलाउँदै आएका भीम हिजोदेखि नेकपामा समाहित भइसकेका छन् ।
अब उनी आफू निकटका एमाले नेता-कार्यकर्तालाई पनि नेकपामा भित्र्याउन कस्सिएको स्राेतकाे दाबी छ । हिजोको एकता घोषणा सभामा त्यसको संकेत गर्दै प्रकाश ज्वालाले मङ्सिर २७ गते एमालेमा भूकम्प जान ठोकुवा गरेका थिए ।
सुदूरपश्चिममा रावलको व्यक्तिगत प्रभावसमेत रहेको मानिन्छ । उनलाई टिकट नदिएर बिच्काएकै कारण ०७९ को चुनावमा त्यहाँ एमाले पराजित भएको भन्नेहरू धेरै छन् ।
हुन त, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सुदूरपश्चिमकै हुन् । तर, 'जेनजी विद्रोह'पछि उनले सक्रिय राजनीतिबाट बिदा हुने संकेत देखाएपछि अब भीमले शक्ति सञ्चय गर्नसक्ने विश्लेषण कतिपयको छ ।
उनी निकटका एक नेता भन्छन्, ‘सुदूरपश्चिमको नेता भनेको कि देउवा हुनुहुन्छ, कि रावल कमरेड हो । देउवा अहिले फरक परिस्थितिमा हुनुहुन्छ, त्यसैले रावल कमरेडलाई यहाँको नेता बन्ने ठूलो अवसर छ ।’
टिप्पणीहरू