देउवा फर्कनुअघि २५ नेताको हस्ताक्षर
नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यले आसन्न प्रतिनिधिसभाको निर्वाचनअगावै महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ बुँदे लिखित पत्र बुझाउँदै उनीहरूले मङ्सिरभित्रै १५ औँ महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउन माग गरेका हुन् । चुनावलाई परिणाममुखी बनाउन छिट्टै महाधिवेशनमा जानुपर्ने उनीहरूको मत छ ।
'आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगतरूपमा अधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका बनाई लागू गर्ने', २५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित बुझाएको माग पत्रको दोस्रो बुँदामा भनिएको छ ।
क्रियाशील सदस्यता नवीकरण, वितरण कार्यलाई समयसीमा निर्धारण गरी टुंगो लगाउन र निर्वाचन समिति अबिलम्ब विस्तार गर्न पनि नेताहरूले जोड दिएका छन् । जेनजी आन्दोलनको भावनालाई समेट्ने गरी पार्टीका सबै तहमा युवा पुस्ताको उल्लेखनीय प्रतिनिधित्व सुनिस्चित गर्न पनि नेतृत्वको ध्यानाकर्षण गरिएको छ ।

मागपत्र बुझाउनेहरूमा केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् । त्यसैगरी, धना खतिवडा, अब्दुल रजाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ् लामा, रामजनाम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीको पनि हस्ताक्षर छ ।
मागपत्र पेश गर्ने अधिकांश केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् । काँग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा संस्थापन र इतर खेमाबीच बिबाद रहँदै आएको छ ।
महामन्त्री गगन कुमार थापासहित इतर समूह ढिलोमा पुस १५ भित्र विशेष महाधिवेशन गरी निर्वाचनमा जानुपर्ने पक्षमा छ । देउवा निकटहरू भने आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने अडानमा देखिन्छन् ।
महाधिवेशनको मितिलाई लिएर सहमति जुट्न नसक्दा जारी केन्द्रीय कार्यसमिति बैठकमा दुइवटा छुट्टा छुट्टै कार्यतालिकासमेत पेश भएको छ ।
यता, स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका सभापति देउवा आज स्वदेश फर्किन लागेका छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते बूढानिलकण्ठस्थित निवासमै आक्रमणमा परेका देउवा पत्नी आरजू राणासँगै कात्तिक १० गते सिंगापुर गएका थिए ।
उनले उतैबाट नियमित महाधिवेशनको वातावरण बनाउन निर्देशन दिएकाले केन्द्रीय कार्यसमिति बैठक अनिर्णित भएको बताइएको छ । सभापति देउवा फर्किएपछि महाधिवेशनबारे निर्णय लिने संस्थापनको तयारी छ ।




टिप्पणीहरू