शाकाहारीको संख्या बढ्यो चीनमा

शाकाहारीको संख्या बढ्यो चीनमा

चिनियाँ खाना विश्वभर प्रसिद्ध छ । धेरैजसो खानामा माछा मासुको प्रयोग हुने भएकाले चिनियाँहरु शाकाहारी र विशुद्ध शाकाहारी भनेर चिनिने भेगन हुँदैनन् कि क्या हो भन्ने अनुमान गरिन्छ । तर,पछिल्लो समय चीनमा शाकाहारी मात्रै होइन,दही दूधको समेत प्रयोग नहुने भेगन रेष्टुरेन्ट खुल्ने क्रम बढेको छ ।

पछिल्लो १३ वर्षमा सु मान सिआङ नामक भेगन रेष्टुरेन्ट चीनमा निकै लोकप्रिय बनेको छ । सांघाईबाट शुरु भएको यो रेष्टुरेन्टको विस्तार विभिन्न शहरमा गरी एक सय पुगेको छ । परम्परागत मांशाहारी भोजनको सट्टा नयाँ पुस्ताका चिनियाँहरु स्वास्थ्य, वातावरणीय सचेतना र सांस्कृतिक कारणले शाकाहारी र भेगन भोजनप्रति आकर्षित हुँदै गएको पाइन्छ । 

सु मान सिआङ वेगन बुफेट चेनले चीनभर आफ्नो सञ्जाल तीव्र गतिमा फैलाएको छ । अघिल्लो आइतबार मध्यान्ह साढे १२ बजे मध्य चीनको वुहान शहरको मध्य भागमा रहेको उक्त रेष्टुरेन्टमा पुग्दा चिनियाँ ग्राहकहरु भरिभराउ देखिन्थे । स्थानीय हुवाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका तीन जना नेपाली विद्यार्थीसँगै लेखक पनि दिउँसोको खाना (लञ्च) को लागि पुग्दा झण्डै सय जना चिनियाँ खाना खाइरहेका थिए । झण्डै त्यत्ति नै संख्यामा अरुले पालो कुरेर बसेको देखिन्थ्यो । 

मध्यान्ह पौने १२ बजेदेखि २ र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने उक्त बुफेट चेन रेष्टुरेन्टमा दर्जनौं परिकार थिए । सदस्यता लिएका ग्राहकलाई १९ चिनियाँ युआन र अन्यलाई २६ युआन मूल्य तोकिएको रेष्टुरेन्टमा पुग्ने चिनियाँहरुको संख्यालाई हेर्दा चीनमा पनि शाकाहारी र भेगनप्रेमीको संख्या बढेको स्वतः अनुमान लगाउन सकिन्छ ।

गाई,भैंसी,बाख्राको दूधबाट बनेका परिकार, घिउसमेत प्रयोग नगर्ने उक्त रेष्टुरेष्न्टले चिनियाँ परम्परागत स्वादलाई प्राथमिकता दिएको दावी छ । मेनुमा तोफु, हरिया सागपातका तरकारी, नूडल्स, सूप, फ्राइड राइस र विभिन्न हल्का मिठाइहरू उपलब्ध गराइएको छ । भटमासको दुधमा बनाइएको साबुदानाको चिसो खीर पनि धेरैको रोजाईमा देखिन्थ्यो । हल्का पेय पदार्थमा कागती पानी धेरैको रोजाइमा पाइयो । 

कम मूल्यका कारण निम्न तथा मध्यम आय समूह, विद्यार्थी र स्वास्थ्यप्रति सचेत युवा वर्ग आकर्षित भएको धेरैको बुझाइ छ । सन् २०१२ मा सांघाईमा स्थपित यो रेष्टुरेन्टले विभिन्न १० प्रान्तका शहरमा एक सय भन्दा बढी आउटलेट खोलिसकेको छ ।

 

टिप्पणीहरू