चुनावलक्षित गुप्तचर परिचालित
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाइदिन नागरिक समाजका अगुवाहरुसँग सहयोग माग्नुभएको छ । नागरिक समाजका अगुवाहरुलाई आज सिंहदरबारमा बोलाएर उहाँले सरकार र राजनीतिक दलबीच समन्वयात्मक भूमिका खेलिदिन आग्रह गर्नुभएको हो ।
फागुन २१ गतेको निर्वाचन राजनीतिक निर्णय मात्र नभएर मुलुकलाई लयमा ल्याउने विकल्प पनि रहेको प्रधानमन्त्री कार्कीको भनाई छ ।
‘सरकारले संवाद मार्फत विभिन्न दलहरुसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘तर नागरिक समाजले पनि आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा ल्याउन सहयोगका निम्ति अपिल गर्दछु ।’
नेकपा (एमाले)ले संसद पुनःस्थपनाको माग गर्दै चलाइरहेको अभियानले चुनावी वातावरण निर्माणमा समस्या सिर्जना गरिरहेको कार्कीको अनभुव छ । ‘केही दलहरुले चुनावमा जान अनिच्छा देखाइरहेका छन्, उनीहरुसँग नागरिक समाजले समन्वय गरिदियोस्’, उहाँले थप्नुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्तिपूर्ण मतदानको सुनिश्चित गर्न व्यवस्थित रुपमा गुप्तचर परिचालन गरिएको पनि जानकारी दिनुभयो ।
छलफलमा नागरिक समाजकाे तर्फबाट सुवोधराज प्याकुरेल,केदारभक्त माथेमा, खगेन्द्र संग्रौला, स्टेला तामाङ, दोभान राई, नयनतारा गुरुङलगायत सहभागी थिए ।
टिप्पणीहरू