मन्त्रीले उद्घाटन गरेको भाेलिपल्टै सरकारी निर्णय अलपत्र
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गरेको स्मार्ट लाइसेन्सको छपाई कार्य अलपत्र परेको छ । झण्डै दुई साता हुन लागिसक्दासमेत लाइसेन्स छपाई शुरु हुन सकेको छैन । गत भदौ २३ गतेको जेनजी विध्वंशमा मीनभवनस्थित यातायात व्यवस्था विभाग ध्वस्त भएको थियो ।
भवनसँगै त्यहाँभित्र रहेको एउटा लाइसेन्स छाप्ने मेसिन पनि जल्यो । मेसिन जलेपछि स्मार्ट लाइसेन्स छपाई ठप्प भएको बताइन्छ । सोही मेसिन मर्मत गर्न करोडौं खर्च लाग्ने भएपछि विभाग नबनाउने निर्णयमा पुगेको छ । यता, भवन खरानी भएपछि विभागले परिसरमा टेण्ट टाँगेर सेवा प्रदान गरिरहेको छ ।
वैदेशिक रोजगारी, विभिन्न शान्ति मिसन र शैक्षिक अध्ययनका लागि विदेश जानेहरु लाइसेन्सका कारण समस्यामा परेपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग छपाईको सम्झौता गर्यो । जी–टु–जी सम्झौतामार्फत दैनिक पाँच सय थानका दरले लाइसेन्स छाप्ने सहमति भएकोमा गत कात्तिक २१ गते मन्त्री खरेलले त्यसको उद्घाटन पनि गरे ।
पाँच सय लाइसेन्स छापेर परीक्षणका लागि काठमाडौं युनिभर्सिटी पठाइएकोमा कुनै जानकारी प्राप्त नभएको विभागले जनाएको छ । केन्द्रबाट एउटा पनि लाइसेन्स प्राप्त नभएको विभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार हालसम्म लाइसेन्सको छपाईको काम थालिएको छैन ।
जनआस्थासँग उनले भने,‘उद्घाटनको दिन जति छपाई भयो, त्यति नै हो । त्यसपछि त छपाई भएकै छैन ।’ छपाईमा ढिलाई हुनुको कारण गुणस्तर भएको उनको भनाइ छ । गुणस्तर परीक्षणको रिपोर्ट आएपछि छपाई थालिने उनले जानकारी दिए ।
लाइसेन्स छपाईमा भएको ढिलाईले विभागका कर्मचारीलाई सास्ती दिएको छ । दैनिक सयौं सेवाग्राही लाइसेन्स खोज्दै आउने गरेकोमा उनीहरु ‘प्रक्रियामा छ’ भन्दै फर्काउन बाध्य छन् । विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले केन्द्रले परीक्षणको लागि पठाएको तर रिपोर्ट आइनसकेको बताए ।
रिपोर्ट आएपछि मात्र छाप्ने काम शुरु हुने उनले जानकारी दिए । ‘पहिलो लटमा पाँच सय लाइसेन्स छाप्ने सम्झौता भएको थियो । मन्त्रीजीले उद्घाटन गरेपछि लाइसेन्स छापियो । ती लाइसेन्सलाई टेस्टिङ्गको लागि पठाएको छौं तर रिपोर्ट आइसकेको छैन’,उनले भने । केन्द्रले पहिलो चरणको रिपोर्ट आइनसक्दै दोस्रो चरणका लागि विभागसँग डाटा मागेको छ ।
कति लाइसेन्स छ पेण्डिङ्गमा ?
हाल लाइसेन्स छपाईको अधिकार बागमती प्रदेश सरकारसँग छ । प्रदेशले लाइसेन्स छाप्नुपर्नेमा कानुनी अड्चनका कारण रोकिएको थियो । विभागले पहिल्यै छाप्न बाँकी रहेका लाइसेन्सको मात्रै छपाई गर्दै आएको थियो । २५ लाखमध्ये पाँच लाख छापिसकेकोमा २० लाख छाप्न बाँकी छ ।
तर, मेसिन नै जलेपछि विभागले बाँकी छाप्न सकेन । ब्याक लकसहित लाइसेन्स छपाईको जिम्मा विभागले केन्द्रलाई दिएको हो । केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स छापेर विभागलाई दिने सम्झौता भएको छ । बाँकी लाइसेन्स पुनः बजेट व्यवस्थापन गरेर छाप्ने सम्झौता पत्रमा उल्लेख छ ।
यस्ता छन् लाइसेन्समा फरक
विभाग र केन्द्रले छाप्ने लाइसेन्स फरकफरक हुने छ । विभागको लाइसेन्समा चिप्स थियो भने केन्द्रले छाप्नेमा क्युआर छ । विभागले छापेको लाइसेन्समा प्वालजस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने र लेखाइमा फरकपन थियो । केन्द्रको लाइसेन्समा यी फिचर छैनन् ।
दुवैमा प्रयोग हुने मसी पनि बेग्लाबेग्लै रहेको बताइन्छ । त्यसैगरी, केन्द्रको कार्डको ग्यारेण्टी १० वर्षको छ । लाइसेन्सको मूल्य पनि फरक छ । तर, त्यसले खासै फरक नपर्ने विभागका अधिकारीहरु बताउँछन् । ‘मेसिन नै छुट्टाछुट्टै भएपछि लाइसेन्स फरक हुनु स्वाभाविकै हो । क्यूआर भएपनि, चिप्स भएपनि सरकारले दिएको हो । त्यसैले केही फरक पर्दैन’,उनले भने ।
टिप्पणीहरू