विदेशतिर लाग्ने स्थानीय जनप्रतिनिधि बग्रेल्ती
काम कम,भ्रमण बढी । प्रसंग हो, स्थानीय तहका जनप्रतिनिधिको । तालिम,अध्ययन,अनुभव, अवलोकनजस्ता विभिन्न बहानामा महिनैपिच्छे जनप्रतिनिधिहरु विदेश जाने क्रम बढ्दो छ ।
वि.सं.२०७२ असोज ३ गते बनेको संविधानले मुलुकमा संघीयताको व्यवस्था गरेपछि ‘गाउँ गाउँमा सिंहदरबार’ को नारा लगाइएको थियो । अहिले देशमा संघ,प्रदेश र स्थानीय सरकार छन् । जसमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकार हो ।
स्थानीय सरकारलाई जनताको पहिलो र नजिकको सरकार मानिन्छ । नागरिक कुनै पनि समस्यामा पर्दा वा कुनै सेवा आवश्यक परे शुरुमा स्थानीय सरकार गुहार्छ । यस अर्थमा स्थानीय सरकार नागरिकका निम्ति चौबिसै घण्टा चनाखो अवस्थामा रहनुपर्छ । त्यसैका निम्ति नागरिकले सबैभन्दा बढी विश्वास गरिएका व्यक्तिलाई चुनेर कुर्सीमा पुर्याउँछन् ।
यसरी जनताको विश्वासले चुनिएर पदमा पुगेपछि भने सेवाभन्दा घुमघाममा जनप्रतिनिधिहरुको व्यस्तता बढ्दो छ । विभिन्न संघसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणका नाममा जनप्रतिनिधि विदेशिने क्रम वर्षेनी बढिरहेको देखिन्छ ।
को–कति चोटि गए विदेश भ्रमणमा ?
२०७९ वैशाख ३० गतेको स्थानीय तह चुनावमार्फत ७५३ वटै पालिकामा जनप्रतिनिधि आएका छन् । पाँच वर्षे कार्यकालमध्ये उनीहरुको साढे तीन वर्ष समाप्त भइसकेको छ ।
पटकपटक विदेश जानेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि विभिन्न जनप्रतिनिधि रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपलब्ध तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा झण्डै एक सयको संख्यामा स्थानीय जनप्रतिनिधि विदेश गएका छन् । यद्यपि, मन्त्रालयको तथ्याङ्कबाहेक पनि धेरै जनप्रतिनिधि विदेश भ्रमणमा पुगेको पाइन्छ ।
यता,सबैभन्दा बढी विदेश भ्रमण जानेमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि छन् । निर्वाचित भएयता मेयर बालेनले ब्राजिल जान सिफारिस लिएको मन्त्रालयको विवरणमा उल्लेख छ भने उपमेयर सुनिता डंगोल बेलायत, पोर्चुगल,थाइल्याण्ड,जर्मनी पुगेकी छन् ।
महानगरका वडाध्यक्षहरु नविन मानन्धर,सरोज ढकाल,ख्यामराज तिवारी,आशामान संगत,सरोज ढकाल, दलबहादुर कार्कीलगायत पनि विभिन्न देश गइसकेका छन् । काठमाडौंपछि पोखरा महानगरपालिकाबाट धेरै जनप्रतिनिधि विदेश भ्रमणमा गएको पाइन्छ ।
मेयर धनराज आचार्य फिलिपिन्ससहित वडाध्यक्षहरु सहारा प्रधान,राममोहन आचार्य,रुद्रनाथ बराल,किरण बराल, राधिकाकुमारी शाही योगी,नरेन्द्र थापा, रामचन्द्र अधिकारी, दिपक घिमिरे अमेरिका पुगिसकेका छन् । बढी विदेश भ्रमणमा जानेको तेस्रो सूचीमा ललितपुर महानगरपालिका छ ।
मेयर चिरीबाबु महर्जन फ्रान्स, अमेरिका, बेइजिङ, इन्डोनेसियासँगै उपप्रमुख मन्जली शाक्य जापान र वडाध्यक्षहरु श्रीगोपाल महर्जन तथा वीरेन्द्र महर्जन अमेरिका भ्रमणमा गइसकेका छन् । निर्वाचित भएयता चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहित वडाध्यक्षहरु मनोज रानाभाट, मिनाकुमारी लामा चीन पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
पटकपटक विदेश भ्रमणमा जाने सूचीमा गोरखा नगरपालिका,फुङलिङ नगरपालिका, सर्केगाड गाउँपालिका, सूर्योदय नगरपालिका,चन्द्रागिरी नगरपालिका, खैरहनी नगरपालिका, धुनिवेशी नगरपालिका, गण्डकी गाउँपािलका, सुनकोशी गाउँपालिका, फेदीखोला गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङटार नगरपालिका, हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि पनि छन् ।
त्यस्तै, मेचीनगर नगरपालिका, तानसेन नगरपालिका, फिक्कल गाउँपालिका, बनेपा नगरपालिका, भक्तपुर नगरपालिका, हेटौंडा उपमहानगरपालिका, धुलिखेल नगरपालिका, चन्द्रागिरी नगरपालिका, अर्जुनधारा नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका, देवदेह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, टोखा नगरपालिका, जिरी नगरपालिका, भानु नगरपालिका, विराटनगर महानगरपालिका, सिद्धार्थनगर नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, महालक्ष्मी नगरपालिका, शिवालय गाउँपालिका, हुप्सेकोट गाउँपालिका, तिलोत्तमा नगरपालिकालगायतका जनप्रतिनिधिसमेत बारम्बार विदेश भ्रमणमा गइसकेका छन् ।
निर्देशिका एकातिर, भ्रमण अर्काेतिर
स्थानीय तहका जनप्रतिनिधि विदेश जानु परे जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय तहको निर्णयसँगै मन्त्रालयको स्वीकृति चाहिन्छ । सो स्वीकृति विभिन्न पाँच वटा आधारमा दिन सकिने व्यवस्था ‘स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५’ ले गरेको छ ।
पहिलो निमन्त्रणा गर्ने मुलुकको समकक्षी वा निमन्त्रणा गर्ने संस्थाको निमन्त्रणा प्राप्त भएको अवस्थामा जनप्रतिनिधिको विदेश भ्रमण मनोनयन गर्न सकिन्छ । दोस्रो भ्रमणको विषयवस्तु र सहभागिताको दृष्टिले पदाधिकारी नै सहभागी हुन उपयुक्त ठहरिएमा स्वीकृति दिइन्छ ।
त्यस्तै, तेस्रो भ्रमणबाट स्थानीय तहको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, सेवा प्रवाह तथा अन्य विविध क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएमा, चौथौं विकास सहायताअन्तर्गत सञ्चालित आयोजनासँग सम्बन्धित भ्रमणको हकमा आयोजनाको कार्यक्षेत्र र कार्यान्वयनमा सहयोग पुग्ने देखिएमा तथा पाँचौं अवसरको समन्यायिक वितरणमा सहयोग पुग्ने भएमा विदेश भ्रमणका निम्ति मनोनयन गर्न सकिन्छ ।
तर, पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरु व्यक्तिगत निमन्त्रणा, गैरसरकारी संस्थाद्धारा आयोजित कार्यक्रम र आफ्नो कार्यक्षेत्रसँग असम्बन्धित कार्यक्रममा जाने क्रम बाक्लो छ ।
यस्ता अनावश्यक भ्रमण रोक्न सरकारले बेलाबखत विभिन्न कार्यविधि ल्याएतापनि त्यसको कार्यान्वयन भएको पाइँदैन । अर्कोतिर, विदेश भ्रमणमा जाँदा कतिपय जनप्रतिनिधिले सम्बन्धित निकायबाट स्वीकृति लिएको पनि भेटिँदैन ।
उपलब्धि शून्य
स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणमा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरिएपनि उपलब्धि भने शून्य बराबर छ । जनप्रतिनिधिका निम्ति विदेश भ्रमण केबल व्यक्तिगत रमाइलोको विषय बन्दै गएको छ, भ्रमणका बेला सिकेका कुरा व्यवहारमा उतार्न उनीहरुले खासै चासो दिएको पाइँदैन ।
जसका कारण विदेश भ्रमणमा हुँदै आइरहेको राज्यको लगानी ‘बालुवामा पानी’ सरह बनेको छ । विदेश भ्रमणमा गएपछि जनप्रतिनिधिले आफ्नो पालिकामा त्यहाँ सिकेका कुरा लागू गर्न वा विदेशका स्थानीय सरकारले गरेका काम अनुशरण गर्न सक्नुपर्छ । तर, हामी कहाँ त सिक्ने नाममा बारम्बार विदेश पुग्ने अनि फर्किएपछि केही पनि व्यवहारमा नउतार्ने प्रवृत्ति देखिन्छ ।
‘रमाइलोका लागि मात्र विदेश जाने प्रवृत्ति बस्यो’
नेपाल नगरपालिका संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा स्थानीय तहका जनप्रतिनिधिहरु रमाइलो र घुमफिरका लागि मात्रै विदेश भ्रमणमा जाने प्रवृत्ति मौलाएको स्वीकार्छन् । कतिपय भ्रमण उपलब्धिमूलक भएतापनि धेरैजसो घुमघाम र व्यक्तिगत रमाइलोका लागि हुने गरेको उनी बताउँछन् ।
‘विश्व डिजिटल युगमा गइसक्यो । त्यसैले, विदेशको सेवा प्रवाह, विकास निर्माणबारे थाहा पाउन त्यही जानैपर्ने आवश्यकता अहिले छैन,’ उनले भने । जनप्रतिनिधिहरु पटकपटक विदेश पुग्ने तर त्यहाँ सिकेका कुरा यहाँ लागू गर्न भने चुकेको उपाध्यक्ष सापकोटाको ठहर छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्याल पनि विदेश भ्रमणमा जाने जनप्रतिनिधिको संख्या वर्षेनी बढिरहेपनि उपलब्धि भने खासै नदेखिएको बताउँछिन् । ‘जति विदेश भ्रमणमा जाने पदाधिकारी बढ्दो छन्, त्यति उपलब्धि देखिँदैन,’ उनले भनिन् ।
टिप्पणीहरू