दुर्गा प्रसाईंको साइबर समूहद्वारा ‘ह्याक’ गर्ने चेतावनी
‘नेपाली फर नेपाल’ नामक साइबर समूहले दुर्गा प्रसाईंलाई तत्काल रिहाइको माग गर्दै सरकारी कार्यालयका वेबसाइटहरु ह्याक गर्ने चेतावनी दिएको छ । हालसम्म पाँच वटा वेबसाइट ह्याक भइसकेको अवगत गराउँदै सो समूहले प्रसाईंलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाल विद्युत प्राधिकरण, सडक विभाग, उद्योग विभाग, मिर्मिरे लघुवित्त र इन्द्रावती क्याम्पसको सर्भर ह्याक गरेको उक्त समूहको दावी छ । प्रसाईंलाई रिहा नगरिएमा सुशीला कार्की नेतृत्वको सरकारसँग जोडिएका सबै सर्भर ह्याक गर्ने उसको चेतावनी छ ।
मंसिर ७ गतेदेखि मेची महाकाली आन्दोलनको घोषणा गरेका प्रसाई सोमबार मध्यराती भक्तपुरको मध्यपुर ठिमीस्थित निजी निवासबाटै पक्राउ परेका थिए । त्यसयता उनी नेतृत्वको नागरिक बचाउन अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो । तर प्रसाईं रिहा हुने छाँटकाँट नदेखिएपछि अभियानकै साइबर समूह सक्रिय बनेको हो । उक्त समूहले अस्ति पञ्चिकरण विभागको वेबसाइट समेत ह्याक गर्ने प्रयास गरेको थियो ।
टिप्पणीहरू