सिमरा घटनाप्रति प्रचण्डको चासो, संयमित हुन अपिल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सिमरा घटनाप्रति चासो राख्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।
स्थितिलाई थप हिंसात्मक हुन नदिन सरकार, राजनीतिक दल र जेनजी युवालाई संयमता अपनाउन प्रचण्डले सामाजिक सञ्जालमार्फत अपिल गरेका हुन् । हिजो बिहान सिमरा विमानस्थलबाहिर जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि अहिलेसम्म त्यहाँको अवस्था तनावग्रस्त छ ।
लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुने भन्दै उनले निर्वाध रूपमा हिँडडुल तथा सभा सम्मेलन गर्ने वातावरण बनाउन सरकाको ध्यानाकर्षण गराएका छन् ।
‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन’, प्रचण्डले भनेका छन्, ‘त्यसैले राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिँड्डुल गर्ने, सभा सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उनले परिस्थितिलाई सामान्य बनाउनको लागि आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न पार्टीका स्थानीय कमिटीहरूलाई प्रचण्डले निर्देशन दिएका छन् ।
टिप्पणीहरू