एमाले र दुर्गा प्रसाईंसङ्गको झडप रोक्न जङ्गी अड्डामा तयारी
नेपाली सेनाले एमालेले पर्सि शनिबार र दुर्गा प्रसाईं समूहले आइतबार गर्न लागेको जनसभा,जनप्रदर्शन तथा देशब्यापी आन्दोलनको समीक्षासँगै सम्भावित अराजक भीड रोक्नेबारे समन्वयात्मक छलफल कार्यक्रम राखेको छ । हालैको जेन जी विध्वंशमा भएको आगजनी,तोडफोड झैँ आगामी विरोध कार्यक्रममा पनि हुनसक्ने सम्भावित क्षतिको विभिन्न कोणबाट विश्लेषण भैरहेको छ ।
कुनै पनि राजनीतिक दलका विरोध प्रदर्शन र समूहको आमहड्ताल तथा प्रदर्शनहरुमा सरकारी तथा निजी सम्पत्तिमा हुने तोडफोड,आगजनी तथा लुटपाटका घटनाहरु कम गर्न सुरक्षा निकायहरुबीचको समन्वय र सहकार्यका निम्ति सेनाले अग्रसरता लिएको बताइन्छ । त्यसका भोलि बिहान ११ बजे भद्रकालीस्थित जङ्गी अड्डामा भीड नियन्त्रणसम्बन्धी विशेष छलफल र उपाय खोज्न लागिएको स्रोतको दावी छ ।
सैनिक युद्धकार्य निर्देशनालयको बलभद्र कुँवर कक्षमा हुन लागेको भीड नियन्त्रण समन्वय कार्यशालालाई ‘टेबल टप एक्सरसाइज’ नाम दिइएको छ । उक्त कार्यशालामा अपरेसन फाँटमा कार्यरत नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका नायव महानिरीक्षक,उपत्यकाको तीन वटै जिल्लाका प्रहरी कार्यालय प्रमुख, दुबै प्रहरी संगठनका अपरेसन अधिकृत तथा गण प्रमुखहरु सहभागी हुँदैछन् ।
टिप्पणीहरू