एनजीओको कार्यक्रममा सहभागी सांसद र पत्रकार रुष्ट
कोशी प्रदेश सभाका सदस्यहरुले गर्भनेन्स इन्टरनेशनल नामक संस्थाले आयोजना गरेको ‘संसदीय खुलापन कार्यक्रम’ प्रति असन्तुष्टि जनाएका छन् । महत्वपूर्ण विषयमा झारा टार्ने कार्यक्रमको आयोजना गरिएको भन्दै सांसदहरु आयोजकसँग रिसाएका हुन् । कार्यक्रमका लागि संस्थाका कार्यक्रम संयोजक तथा अधिवक्ता सञ्जिव घिमिरे बुधबार जहाजमार्फत मोरङको कटहरीस्थित कोशी प्रदेश सभा सचिवालय पुगेका थिए ।
त्यसैदिन दिँउसो ३ बजेबाट कार्यक्रम शुरु गरियो । उनले सांसदहरुलाई दुई मीनेट मात्र बोल्न पाइने बताए । त्यसपछि सांसदहरुले बजेट सकाउनका लागि हतारोमा कार्यक्रम गरिएको भन्दै असन्तुष्टि प्रकट गरे । अर्थ समितिका सभापति विनोद राईले आफ्नो भाडा मात्र सकिएको गुनासो पोखे । उनले भने,‘संसदीय पत्रकारहरुले आउनु भनेपछि भोजपुरदेखि दुःखकष्ट सहँदै आइयो । यहाँ आउँदा पो कार्यक्रम फितलो रहेछ भन्ने थाहा पाइयो । गाडी भाडा मात्र खर्च भयो ।’

सांसद लिलाबल्लभ अधिकारीले आयोजकले सांसदहरुको अवमूल्यन गरेको आरोप लगाए । ‘विषय गहन थियो । व्यवस्थित रुपले गरेको भए राम्रै हुन्थ्यो । तर, कार्यक्रम बजेट सक्नका लागि मात्र गरिएकोजस्तो भयो । आयोजकले आफूहरुको अवमूल्यन गरेको मेरो ठहर छ’,उनले भने । उक्त कार्यक्रमका लागि तेह्रथुमबाट विद्यायन समितिकी सभापति कमला दर्नाल, मोरङको बेलारीबाट माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, धनपालथानबाट सामाजिक विकास समिति सभापति गयानन्द मण्डल, वन तथा वातावरण समिति सभापति रामदेव यादवसहित एक दर्जन सांसद टाढाटाढाबाट आएका थिए ।
कार्यक्रमको आयोजना देखेर सांसद मात्र नभई पत्रकारहरु समेत रुष्ट भए । कार्यक्रममा जेनजी भनेर ३५ वर्ष कटेकालाई बोलाएर आफूहरुलाई गाली गर्न लगाएको सांसदहरुको आरोप छ । उपसभामुख सृजना दनुवारले व्यवस्थित रुपमा कार्यक्रम आयोजना गर्न आग्रह गरेकी छिन् । कार्यक्रमका लागि एक जना मात्रै काठमाडौंबाट आएपछि संसदीय पत्रकार मञ्चका सचिव सुमन तिम्सिनाले कार्यक्रम सञ्चालनका निम्ति सहयोग गर्नुपरेको थियो ।
यता, पत्रकारहरुले कार्यक्रमका लागि सहयोग गर्ने दाताको नाम र बजेट सार्वजनिक गर्न माग गरेका छन् ।
टिप्पणीहरू