जेनजीलाई मुक्का हान्ने एमाले कार्यकर्ता पक्राउ, सिडिओ कार्यालयमा वार्ता
फाइल फाेटाे
बाराको सिमरामा सिर्जित तनावलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले प्रदर्शनरत जेनजीलाई वार्तामा बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज जेनजी प्रतिनिधिहरूलाई छलफलमा बोलाएका हुन् । बुधबार बिहान सिमरा विमानस्थलबाहिर प्रदर्शन गर्न पुगेका जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि अहिलेसम्म त्यहाँको अवस्था तनावग्रस्त छ ।
आज जेनजीहरूसँग छलफल गरेर विवाद टुंगाे लगाउने जिल्ला प्रशासन कार्यालयकाे तयारी छ । जेनजी युवाले घटना भएकै दिन साँझ जिल्ला प्रहरी कार्यालय पुगेर शुरुमा आक्रमण गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका थिए । सोही अनुसार घटनामा संलग्न रहेको आरोपमा हिजो बिहान जितपुर-सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैमद्धिन अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले साँझ अरविन्द साहलाई पक्राउ गरेको छ ।
अरविन्दले जेनजी प्रतिनिधि सम्राट उपाध्यायमाथि मुक्का प्रहार गरेपछि झडप निम्तिएको प्रदर्शनकारीले बताउँदै आएका छन् । अरविन्द्रलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने भन्दै हिजो दिनभर उनीहरूले कर्फ्यु अवज्ञा गर्दै सिमरा बजारमा प्रदर्शन गरेका थिए ।
‘शुरुमा हमला गर्ने अरविन्द साहलाई हिजो साँझ नियन्त्रणमा ल्याएका छौँ’, सिडिओ मिश्रले जनआस्थासँग भने, ‘उहाँहरु (जेनजी)को मुख्य माग पनि अरविन्दलाई जसरी पनि पक्राउ गर्नुपर्ने माग थियो, त्यो भइसकेको छ ।’
जेनजी जिल्ला संयोजक उपाध्याय नेतृत्वको समूह केहीबेरमा वार्ताको लागि सिडिओ कार्यालय पुग्न लागेको बुझिएको छ ।
टिप्पणीहरू