हतियार नलुकाएको दावी

हतियार नलुकाएको दावी

बौद्ध धर्मावलम्बीहरुको अध्ययन, अध्यापन र अभ्यास गर्ने केन्द्र गुम्बा र बिहारबारे पछिल्लो समयमा आइरहेका अभिव्यक्तिप्रति नेपाल बौद्ध महासंघले आपत्ति जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विध्वंशसँग जोडेर ‘गुम्बाहरु विदेशी राष्ट्रका अखडा हुन्’, ‘त्यहाँ हतियार लुकाइएको छ’ जस्ता अतिरञ्जित अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण जनाएको हो । 

महासंघले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता अभिव्यक्ति, अन्तवार्ता र समाचार सार्वजनिक गर्ने, सञ्चारमाध्यमका प्रस्तोता र स्रोत व्यक्तिमाथि छानबिनको माग गरेको छ ।  

‘पछिल्ला दिनहरुमा नेपालको संविधान २०७२, को धारा २६ (३) उल्लंघन गरी देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व उत्पन्न गराउने उद्देश्यले केही अराजक तत्वहरुले ‘गोन्पाहरु विदेशी राष्ट्रहरुको अखडा बनेका छन्’ वा ‘त्यहाँ हतियार लुकाइएको छ’ जस्ता गैरजिम्मेवार र दुराशयपूर्ण अभिव्यक्ति सार्वजनिक रुपमा प्रसारण गरिँदा सम्पूर्ण बौद्ध समुदायको मानमर्दन भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ । 

त्यसउपर छानबिन गरी दोषी ठहरिने व्यक्तिलाई प्रचलित कानूनीबमोजिम कडा कारबाही गर्न महासंघको माग छ । अन्यथा, मुलुकमा धार्मिक, सांस्कृतिक वा जातीय द्धन्द्ध उत्पन्न हुनसक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र अराजक अभिव्यक्ति तथा अन्तरवार्ता दिने व्यक्तिहरुको रहने महासंघले स्पष्ट पारेको छ ।

टिप्पणीहरू