‘निरीहमन्त्री’को टार्गेटमा काे को ?
नेकपा (एमाले)को युवा दस्ता ‘नेशनल भोलिन्टियर्स फोर्स’ले ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फोर्सले आज एक विज्ञप्ति जारी गरेर गुरुङलाई पक्राउ नगरिएमा परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चेतावनी दिएको हो ।
सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई सजाय दिलाउनभन्दा पनि संरक्षणमा बढी केन्द्रीत बनेकाे दावी पत्रमा गरिएको छ । पछिल्लो केही दिनयता विभिन्न जिल्लामा एमाले नेताहरुमाथि योजनाबद्ध ढंगले आक्रमणको प्रयास भइरहेको सन्दर्भ औँल्याउँदै फाेर्सले भनेकाे छ, ‘कथित नेता भनिने सुदन गुरुङको अराजक समूहले जितपुरसिमरा ४ स्थित औराहमा रहेको एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दीशैलीमा परिवारका सदस्य तथा पुनःनिर्माणमा खटिएका कामदारलाई धम्याएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’
फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठले जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने घटनाका मुख्य योजनाकार सम्राट उपाध्याय रहेको दावी समेत गरेका छन् । उनलाई तत्काल पक्राउ गरेर यसअघि समातिएका एमालेका जनप्रतिनिधिलाई रिहा गर्न पनि पत्रमा माग गरिएको छ ।
रमाइलो के भने, उता ‘हामी नेपाल’ संस्थापक गुरुङले पनि अराजक अभिव्यक्ति दिदैँ हिँडिरहेका एमाले नेतालाई पक्राउ गर्न माग गर्दै बारम्बार गृहमन्त्रीलाई दबाब दिइरहेका छन् । खासगरी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई निरन्तर दबाब दिदैँ आएका हुन्। कतिसम्म भने उनले बस्नेतलाई पक्राउ गर्न नसेकेकोमा गृहमन्त्रीलाई ‘निरिहमन्त्री’ भन्दै राजीनामा माग्न थालेको देखिन्छ । गृहमन्त्री अर्याललाई लक्षित गर्दै भन्न थालेका छन्, ‘उ पनि एमाले हो कि जस्तो लाग्न थालेको छ ।’
टिप्पणीहरू