राजधानीका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै

राजधानीका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै

काठमाडौंका विभिन्न स्थानमा भोलिदेखि केही दिन बत्ति जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युत लाइनलाई भूमिगत गर्ने क्रममा आपूर्ति बन्द हुने जनाइएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि बिहान ७ बजेदेखि १० बजेसम्म शंखमुल फिडरअन्तर्गत बिके कम्प्लेक्स, नयाँ बानेश्वर चोक (सिभिल हस्पिटल–एभरेष्ट हस्पिटल) आसपासका क्षेत्रमा बत्ति निभ्ने छ ।

पर्सि धोबीखोला फिडरअन्तर्गत अल्फाभिटा (एभरेष्ट हस्पिटल–फ्रिस क्याफे) आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि साढे ११ बजेसम्म विद्युत प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

त्यस्तै, मंसिर ११ गते बत्तिसपुतली फिडरअन्तर्गत संसद् भवनअगाडि र बानेश्वर चोक आसपासका ठाउँमा बिहान ७ बजेदेखि १० बजेसम्म बिजुली बन्द हुनेछ । 

मंसिर १२ गते पुरानो एअरपोर्ट र केएमसी फिडरअन्तर्गत नापी विभागलगायत ठाउँमा बिहान ७ बजेदेखि ९ बजेसम्म तथा मंसिर १३ गते पुरानो एअरपोर्ट र बानेश्वर फिडरअन्तर्गत बिके कम्प्लेक्स (नापी–सिभिल हस्पिटल) आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
 

टिप्पणीहरू