काठमाण्डौ उपत्यकामा आए अर्का कार्की कमाण्डर
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यसअघि सम्हालेको जिम्मेवारीमा कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी ईश्वर कार्कीलाई बढुवा दिएर ल्याइएको छ । मन्त्रिपरिषद्को आजको बैठकबाट एआइजीमा कन्फर्म भएका कार्कीलाई महानिरीक्षक हुनुअघि दानबहादुरले सम्हालेको काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयको आजको सरुवामा डिआइजीहरुमध्ये ईश्वरको ठाउँमा हेडक्वार्टरको प्रवन्धका प्रमुख विनोद घिमिरेलाई कोशी प्रदेश लगिएको छ । क्याबिनेट बैठकले सशस्त्र प्रहरी बल नेपालमा एक जना डिआइजीको दरबन्दी थप्ने निर्णयसमेत गरेको छ ।
आज दिउँसो १५ मीनेट बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णयमध्ये पर्सिदेखि रिक्त हुन लागेको मुख्य सचिवमा सचिवहरुमध्ये वरिष्ठताको आधारमा सुमन शर्मा अर्यालको नियुक्ति पनि हो । बिचौलिया दिपक भट्टले अन्तिम क्षणसम्म पनि सचिव गोकर्णमणि दवाडीका लागि गरेको प्रयास व्यर्थ भएको छ भने अर्का सचिव कृष्णहरि पुष्करको नाममा समेत सल्लाह भएको बुझिएको छ ।
टिप्पणीहरू