काठमाडाैं बाहिर जेनजी घाइतेको वर्गीकरण

काठमाडाैं बाहिर जेनजी घाइतेको वर्गीकरण

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै घाइते तथा अपाङ्गताको वर्गीकरणका लागि सम्पर्कमा आउन भनेको हो । उनीहरुलाई नागरिकताको प्रमाणपत्र, घाइते प्रमाणपत्रसहित उपस्थित हुन सूचित गराइएको छ । 

‘जिल्लास्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गीकरण गर्नुपर्ने भएकोले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरु नेपाली नागरिकताको प्रमाणपत्र, घाइते प्रमाणपत्रसहित यस कार्यालयमा सम्पर्कमा आउनुहुन...’,सूचनामा उल्लेख छ । जेनजी प्रदर्शनमा साढे दुई हजार बढी घाइते भएकोमा ९ जना अझै अस्पतालमा छन् । 

सरकारले घाइतेहरुलाई परिचयपत्र उपलब्ध गराएको छ । त्यस्तै, ती घाइतेको वर्गीकरणका लागि सरकारले ‘जेनजी प्रदर्शनका घाइतेहरुको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । जसअनुसार जेनजी घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा वर्गीकरण गरिनेछ । 

अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुलाई वर्गीकरणबमोजिम परिचयपत्र वितरण गरिनेछ । 

मन्त्रालयले केही दिनअघि सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरुको वर्गीकरणको काम छिटो सम्पन्न गर्न निर्देशन दिइसकेको छ । काठमाडौं प्रशासनले गत शुक्रबारदेखि घाइतेहरुको वर्गीकरण गर्न शुरु गरेको छ ।

टिप्पणीहरू