जाडाे शुरू भएपछि सधैं उखु किसान सडकमा
नेपाल उखु उत्पादन महासंघले आन्दोलनको घोषणा गरेको छ । सरकारले उखु किसानले पाउनुपर्ने ७५ करोड रुपैयाँ अनुदान नदिएपछि महासंघले आन्दोलनको घोषणा गरेको हो । मंसिर १४ गतेदेखि आन्दोलन गर्ने महासंघले जनाएको छ ।
महासंघका अनुसार १४ गते सर्लाहीको हरिवनमा राष्ट्रिय राजमार्ग एक घण्टा जाम र १५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गरिनेछ । सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८–७९ देखि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गर्दै आएको थियो ।
तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उखु किसानको अनुदानमा आधा कटौती गरेर प्रतिक्विन्टल ३५ रुपैयाँ कायम गरेको हो । तर, सो रकम पनि नपाएपछि उखु किसानहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । उनीहरुले यसअघि पनि पटकपटक आन्दोलन गरिसकेका छन् ।
उनीहरुले गत भदौ १४ गते माइतीघर मण्डलाबाट राजमार्ग अवरोधसहितको आन्दोलनको कार्यक्रम सार्वजनिक गरे । भदौ २५ गतेबाट आन्दोलन शुरु गर्ने भनेकोमा जेनजी प्रदर्शन भएपछि उनीहरु रोकिनुपरेको हो । नयाँ सरकारले पनि अनुदान नदिएपछि उनीहरु पुनः आन्दोलनमा उत्रिन लागेका हुन् ।
टिप्पणीहरू