अध्ययन भिसा दुरुपयोग गरेका विदेशीको गतिविधि शंकास्पद
अध्ययन भिसा दुरुपयोग भएको पाइएपछि अध्यागमन विभागले विदेशी नागरिकलाई अध्यापन गराउने शैक्षिक संस्थाहरुको अनुगमन गर्न निर्देशन दिएको छ । विदेशी नागरिकलाई पठनपाठन गराउने सबै शैक्षिक संस्थाको नियमित अनुगमनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको छ ।
७७ वटै जिल्ला अनुगमन समितिलाई विदेशी नागरिकको गतिविधिप्रति निगरानी राख्नसमेत निर्देशन दिइएको छ । विभागका अनुसार विदेशी नागरिक अध्यापन गराउने शैक्षिक संस्थाहरुको अनुगमनका क्रममा कतिपयले आम्दानीको लागि मात्र विद्यार्थी भर्ना गरेको, लामो अवधिको नेपाल बसाईंका लागि वैकल्पिक उपायका रुपमा विदेशीले अध्ययन भिसा लिएको र कानूनले बर्जित गरेका क्रियाकलापमा संलग्न विदेशीलाई समेत अध्ययन भिसा सिफारिस गरिएको पाइएको छ ।
‘अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकले नियमित रुपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्रसमेत पेश गर्न नसकेको र कतिपय विदेशी विद्यार्थीहरु गैरकानूनी कार्यमा संलग्न रहेको देखिँदासमेत सम्बन्धित शैक्षिक संस्थाहरुले विभाग तथा स्थानीय प्रशासनलाई सूचना दिने गरेको पनि पाइएन,’ विभागले भनेको छ ।
भिसा तथा आम्दानीका लागि मात्रै आफ्नो शैक्षिक संस्थामा विद्यार्थी भर्ना नगर्न, अध्ययनरत विद्यार्थी नियमित रुपमा पठनपाठनमा संलग्न भए–नभएको यकिन गरेर मात्र भिसा सिफारिस गर्न र पठनपाठनबाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारी भएमा तत्कालै विभाग वा स्थानीय प्रशासनलाई खबर गराउन पनि विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू