मुख्यमन्त्रीविरुद्धको रिट संयुक्त इजलासमा

मुख्यमन्त्रीविरुद्धको रिट संयुक्त इजलासमा

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पूर्ण सुनुवाइ हुन लागेको हो । नेकपा एमाले संसदीय दलका नेता यादवको मुख्यमन्त्रीमा नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गर्दै सात दलको तर्फबाट कात्तिक २५ गते सर्वोच्चमा रिट दायर भएको थियो । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले उपधारा ३ अनुसार यादवलाई मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको जिकिर छ ।  मङ्सिर २ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

कात्तिक २४ गते बिहान बर्दिवासको एक होटलमा यादवलाई शपथ खुवाएपछि मुख्यमन्त्री नियुक्ति विवाद अदालत पुगेको हो । यादवलाई होटलमा बोलाएर शपथ खुवाएकी प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ ।
 

टिप्पणीहरू