प्रचण्डले पद छोडे पनि राजनीति गर्न नछोड्ने
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिबाट बिदा नलिने भएका छन् । यद्यपि पदमा रहिरहनुपर्छ भन्ने मानसिकतामा भने आफू नरहेको उनले बताए ।
आज काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न कुनै न कुनै भूमिकामा रहिरहने चाहना व्यक्त गरेका हुन् । सक्रियताका हिसाबले आफू जेनजी युवाभन्दा कम नरहेको उनको भनाइ छ ।
‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरू उत्तराद्र्धतिर छौँ । तर, राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेन–जी युवा भन्दा कम पनि छैनौँ’, प्रचण्डले भने, ‘अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौँ । जेन–जी युवाहरुको असली अभिभावक बन्न चाहन्छौँ ।’
जेनजी पुस्तालाई पनि सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरूको चाहना रहेको खुलाउँदै भने, ‘उनीहरुलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’
नेपाली कम्युनिष्ट पार्टीले युवाहरूको आवाजलाई मुखरित गर्ने दावी गर्दै संयोजक प्रचण्डले वाम ध्रुवीकरणलाई आन्दोलनको निरन्तरता भनेका छन् । यो अभियानले निर्वाचनको वातावरण बनाउने उनले विश्वास व्यक्त गरे ।
टिप्पणीहरू