राहदानी फाराम भरेवापत चर्काे शुल्क

राहदानी फाराम भरेवापत चर्काे शुल्क

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राहदानीको अनलाइन फाराम भरेको जथाभावी शुल्क असुल्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागबाहिर सेवा प्रदायक व्यावसायिक संस्थाहरुले अनलाइन फाराम भरिदिएको अस्वभाविक मूल्य लिएको चर्को गुनासोपछि विभागले यस्तो चेतावनी दिएको हो । 

विभागले आज विज्ञप्ति जारी गर्दै त्यस्ता संस्थालाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न भनेको छ । ‘विविध किसिमको सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु जस्तै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, वैदेशिक रोजगार कार्यालयजस्ता नागरिकले सोझै सेवा प्रदान गर्ने कार्यालयबाहिर सेवा प्रवाह सहजीकरण गर्न रहनुहुने व्यावसायिक संस्थाहरुलाई व्यावसायिक मर्यादाभित्र रही कार्य गर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ । 

व्यवसाय सञ्चालन गर्दा फर्म वा सेवा सञ्चालन अनुमति अनिवार्य लिन, राजस्व कार्यालयमा भ्याट–प्यान दर्ता गर्न, फर्म वा व्यवसायले प्रदान गर्ने सेवा र मूल्यसूची अनिवार्य रुपमा सबैले देख्नेगरी राख्न र प्रदान गरिएको सेवाबापत रकमको बिलबिजक जारी गर्न विभागको निर्देशन छ । यसो गरिएको नपाइए उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम बजार अनुगमन टोलीका निरीक्षण अधिकृतबाट कारबाही हुने विभागले जानकारी दिएको छ ।

टिप्पणीहरू