डिआइजीलाई आफ्नै फेसबुक पेज घाँडो

डिआइजीलाई आफ्नै फेसबुक पेज घाँडो

मान्छेलाई कहिलेकाहीँ आफ्नै बोली आफैंलाई घाँडो हुने गर्छ । सार्वजनिक ओहोदामा बसेका जिम्मेवार व्यक्तिले संयमता अपनाउन नसक्दा झन् कस्तो होला ? अहिले नेपाल प्रहरीका डिआइजी जयराज सापकोटालाई हेरे पुग्छ !

प्रहरी संगठनमा हुने सरुवा प्रक्रियालाई कटाक्ष गर्दै फेसबुकमा छोटो स्टाटस लेखेर असन्तुष्टी पोखेका सापकोटामाथि विभागीय कारवाहीको प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले ‘तपाईंलाई किन कारवाही नगर्ने ?’ भन्दै सापकोटालाई स्पष्टीकरण सोधेको छ । 

भनिन्छ, कार्य निर्देशनालयमा कार्यरत सापकोटा कोशी प्रदेश प्रमुखको रुपमा सरुवा हुन चाहन्थे । तर गृह मन्त्रालयले त्यहाँ डिआइजी विनोद घिमिरेलाई पठाएपछि असन्तुष्ट बनेका उनले केही दिनअघ सरुवा प्रक्रियाप्रति आपत्ति जनाउँदै लेखेका थिए, ‘हम कभी नहि सुध्रेङ्गे, ह्याजट्यागमा डिआइजी पोस्टिङ ।’ 

उक्त स्टाटस लेखेकै कारण यतिबेला सापकोटा स्पष्टीकरण दिनुपर्ने अवस्थामा छन् । उनले प्रहरी नियमावली ०७१, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया)सम्बन्धी नीति ०६० र नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश ०७७ विपरित कार्य गरेको प्रधान कार्यालयको ठहर छ ।

टिप्पणीहरू