विदेशी पर्यटकको ‘ट्रयाकिङ्ग’ गर्दै सरकार
सरकारले विदेशी पर्यटकको ट्रयाकिङ्ग गर्ने भएको छ । पर्यटकको सुरक्षाका लागि सरकारले उनीहरुको ट्रयाकिङ्ग गर्न लागेको हो । नेपाल भ्रमण गर्ने पर्यटनको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणका निम्ति अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विकास गरेको छ ।
आउँदो पुस १७ गतेदेखि सो प्रणाली पूर्ण रुपमा लागू गरिने विभागले जनाएको छ । विभागका निर्देशक टिकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै त्यसले विदेशी नागरिकको बसाइँ तथा उनीहरुको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न सहज हुने बताएका छन् ।
‘यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको बसाइँ तथा उनीहरुको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ’,विज्ञप्तिमा भनिएको छ,‘यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदानको प्रक्रियालाई सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ ।’
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा सो प्रणाली लागू गरिने विभागले जानकारी दिएको छ । दोस्रो चरणमा मुलुकभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स, मनी एक्सचेञ्जर र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस, सार्वजनिक तथा निजी संस्थामा उक्त प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।
विभागका सूचना प्रविधि शाखाका कम्प्युटर इञ्जिनियर सन्तोषकुमार शाहले पर्यटकको सुरक्षाका लागि सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए । जनआस्थासँग उनले भने,‘यो पर्यटकको सुरक्षाका निम्ति हो । उहाँहरु आएर कुन होटलमा बस्नुभयो, कति दिन बस्नुभयो ? कहाँ–कहाँ जानुभयो ? त्यसको व्यवस्थित विवरण राख्नका लागि यो व्यवस्था कार्यान्वयन गर्न लागेका हौं ।’
टिप्पणीहरू