२५ करोड उठाउँदै काँग्रेस

२५ करोड उठाउँदै काँग्रेस

नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि आर्थिक संकलन अभियान थालेको छ । पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहका कमिटीलाई परिपत्र गर्दै आर्थिक संकलन अभियान थालिएको जानकारी गराएका छन् ।

भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंशमा अराजक समूहले काँग्रेस मुख्यालयमा तोडफोडसहित आगजनी गरेका थिए । सो क्रममा कार्यालयको ७५ प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ । भवन पुनःनिर्माणको लागि पार्टीका नेता तथा कार्यकर्ताबाटै कम्तीमा २५ करोड संकलन गर्ने उद्देश्य राखेको काँग्रेसले विभिन्न तहका कमिटी र नेताका लागि फरक फरक दर तोक्दै अनिवार्य सहयोग गर्न सर्कुलर गरेको हो ।

परिपत्रमा प्रदेश, जिल्ला, क्षेत्रीय, स्थानीय र वडा समितिले तोकिएको रकम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने उल्लेख छ । प्रत्येक प्रदेश कार्यसमितिलाई पाँच लाख तोकिएको छ । सातै प्रदेशबाट उक्त रकम संकलन भएमा ३५ लाख जुट्ने काँग्रेसको विश्वास छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लालाई ३० हजार, दुईदेखि चार निर्वाचन क्षेत्र भएका जिल्लालाई ५० हजार र चारभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लालाई ७५ हजार तोकिएको छ । 

१६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३० हजारका दरले ४९ लाख ५० हजार र प्रदेश सभा क्षेत्रीय समितिबाट २० हजारका दरले ६६ लाख रकम संकलन हुने अपेक्षा छ । त्यस्तै, ६ वटा महानगरपालिका कार्यसमितिलाई २० हजार, ११ उपमहानगरपालिका कार्यसमितिलाई १५ हजार, २७६ नगरपालिका कार्यसमितिलाई १० हजार र ४६० गाउँपालिका कार्यसमितिलाई पाँच हजारको दर तोकिएको छ । देशभरका छ हजार ७४३ वडा समितिबाट दुई हजारका दरले एक करोड ३४ लाख संकलन हुने अपेक्षा छ ।

हाल पार्टीमा क्रियाशील आठ लाख ७० हजार ७८० सदस्यबाट प्रतिव्यक्ति १५० रुपैयाँ उठाइने योजना छ । सबै क्रियाशील सदस्यबाट तोकिएको रकम उठेमा १३ करोडभन्दा बढी संकलन हुनेछ । 

परिपत्रमा देशभरका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत एक महिनाको तलब पुनःनिर्माणमा छुट्याउन भनिएको छ । त्यसबाट पाँच करोड संकलन हुने बताइएको छ ।

टिप्पणीहरू