यही रहेछ सुमनाको ‘समथिङ इज् कुकिङ ’ !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर हिँडेकी सुमना श्रेष्ठ अन्ततः उज्यालो नेपाल पार्टीसँग जोडिएकी छन् ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र जेनजी अगुवा सुदन गुरूङ लगायतलाई एकै ठाउँमा ल्याउन प्रयासरत भनिएकी उनी आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा कार्यक्रममा सहभागी भइन् । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सुमना मन्त्री घिसिङ र सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसँग एउटै लहरमा बसेकी थिइन् ।
कुलमानले आफूलाई केन्द्रित गरेर चुनाव चिन्ह 'बिजुलीको चिम' राखेको भन्दै असन्तुष्टी जनाएकी उनी पार्टी दर्ताका क्रममा सहभागी भएकी थिइनन् । चुनाव चिन्हमा सहमति जुट्न नसकेकै कारण उनी उज्यालो नेपालमा आवद्ध नभएको भनिएको थियो । तर, आज उज्यालो नेपालकै घोषणा कार्यक्रममा देखिएकी हुन् ।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको अन्तिम समयसम्म पनि कुनै दलमा आवद्ध हुन नसकेकी सुमनाले ‘समथिङ इज् कुकिङ’ भनेकी थिइन् । अस्ति साँझ बालेनले घिसिङलाई साथ दिने बताएकाे भन्ने चर्चापछि उनी पनि उज्यालो नेपालमै जोडिने मनस्थितिमा पुगेको बताइन्छ ।
टिप्पणीहरू