प्रधानमन्त्रीसँग राजनीतिक कुरा, अर्थमन्त्रीसँग फ्लाइओभर
फाइल फोटो
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटघाट गर्नुभएको छ । उहाँहरुबीच आज बिहान साढे ११ बजे कुराकानी भएको थियो । उक्त भेटमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनालको पनि उपस्थिति थियो ।
आज दिउँसो प्रधानमन्त्रीसँग प्रगतिशील लोकतान्त्रिक पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । दिउँसो साढे २ बजेदेखि करिब ४५ मीनेटसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराँती, दुर्गा सोब, ओजस्वी भट्टराई, जिएस गुरुङ, जटिल कार्की, अमित खनाल, सम्झना राई, मञ्जु सल्यान, दीपक महतो, ध्रुवप्रसाद काप्रो, नवीन श्रेष्ठलगायत एक दर्जन थिए ।
त्यसपछि प्रधानमन्त्रीसँग दलित आयोगका पदाधिकारीहरुले भेट गरेका हुन् । दिउँसो साढे ३ बजेदेखि झण्डै आधा घण्टा भएको कुराकानीमा आयोग अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यहरू मिना देवी सोब, टुन्जे कामी, मेहले पार्की, सुन्दर पुर्कुटीलगायत थिए ।
आयोग पदाधिकारीहरु निस्केपछि प्रधानमन्त्री कार्कीसँग भेट गर्न मधेब प्रदेशका पहिलो मुख्यमन्त्री तथा जनता समाजवादी पार्टीका लालबाबु रावत, डा. बसुअद्दीन अन्सारीलगायत आधा दर्जन सवा ४ बजेको समयमा सिंहदरबार पुगेको बताइन्छ ।
त्यसअघि बिहान अर्थ मन्त्रालयमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनालसँग शिष्टाचार भेट गर्न नेपालका लागि जापानी राजदूत माइदा तोरुले पुगेका थिए । सो अवसरमा कोटेश्वर सडक निर्माणसम्बन्धी सहमतिमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ।
आजै अपरान्ह पौने ५ बजेदेखि जेन–जी आन्दोलनका सहिद परिवारले तीन जना मन्त्रीसँग सामूहिक छलफल गरेका थिए । अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, गृहसचिव रामेश्वर दंगाल, अर्थसचिव घनश्याम उपाध्याय र जेन–जी आन्दोलनमा सहिद भएका परिवारका तर्फबाट गणेश चौलागाईं, रचना खतिवडालगायत डेढ दर्जन सहभागी भएको बताइन्छ ।
टिप्पणीहरू